नरैनापुरको क्वारेन्टाइनमा बसेका १३४ जनालाई घर पठाइयो

-यापिट टेस्टमा १४३ जनाको कोरोना रिपोर्ट नेगेटिभ. रिपोर्ट ‘नेगेटिभ’ आए पनि थप एकसाता होम क्वारेन्टाइनमा बस्न नरैनापुर गाउँपालिका अध्यक्ष शाहको आग्रह

बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा राखिएका १ सय ३४ जनालाई आइतबार घर पठाइएको छ । नरैनापुर-६ स्थित जयकिसन माविमा स्थापना गरिएको अस्थायी क्वारेन्टाइनमा राखिएका उनीहरुलाई १५ दिनपछि घर पठाइएको हो ।
कोरोना भाइरसका कारण मुलुक लकडाउनमा गएपछि भारत लगायत विभिन्न स्थानबाट आएका ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने सरकारी नीति अनुसार त्यहाँ राखेर उनीहरुलाई आ–आफ्नो घर पठाइएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तीयाक अहमद शाहले बताए । उनीहरुलाई होम क्वारेन्टाइनमा बसेर अरुलाई पनि कोरोनाबारे सचेतना जगाउन अनुरोध गरेको उनको भनाइ छ । ‘यहाँबाट घर गए पनि उनीहरुलाई थप सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौ’ उनले भने ‘क्वारेन्टाइनमा बस्दा कोरोनाबाट बच्ने सावधानी सम्वन्धी विभिन्न जानकारी पाएकोले उनीहरुले अरुलाई पनि सिकाउने अपेक्षा हाम्रो छ ।’
घर पठाउनु अघि क्वारेन्टाईनमा बसेकाहरु सबैको कोरोना जाँचका लागि र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको थियो । ती सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।