भेरी अस्पताललाई स्वास्थ्य मन्त्रालयले ८० कर्मचारी, लुम्बिनी प्रदेश सरकारको ५० लाख सहयोग
नेपालगन्ज : कोरोनाका बिरामीको उपचार गर्न भेरी अस्पताल नेपालगन्जलाई संघीय र प्रदेश सरकारले सहयोग गरेका छन् ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अस्पतालका लागि १० जना मेडिकल अधिकृत (एमबीबीएस डाक्टर)सहित ८० जना कर्मचारी पदपूर्ति गर्न सहयोग गरेको छ । मेडिकल अधिकृत १० जना, एनेस्थेसियोलोजिष्ट ३ जना, नर्सिङ अधिकृत २ जना, स्टाफ नर्स ४० जना, ल्याब टेक्निसियन ५ जना र सरसफाइकर्मी २० जना रहेका छन् । भेरी अस्पतालले सोमबार नै सरसफाइकर्मीबाहेकका ६० जना कर्मचारीलाई सेवा करारमा पदपूर्ति गर्नका लागि सूचना प्रकाशित गरेको छ ।
त्यसैगरी लुम्बिनी प्रदेश सरकारले पनि कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन भेरी अस्पताललाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष धितालले बताए ।
बाँकेमा कोरोना संक्रमणको अवस्थाबारे बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली नैपालगन्जमा आएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ लगायतको टोलीले आइतबार भेरी अस्पतालको उपचारमा समस्याबारे अस्पतालको टिमसँग जानकारी लिएको थियो । अस्पताल विकास समितिका सदस्य धनराम ओलीले भने, ‘टोलीले कोेरोनाको रोकथाम, नियन्त्रण र उपचारमा आवश्यक परेको सम्पूर्ण सहयोग मन्त्रालयबाट हुने प्रतिबद्धता आएको छ ।’ श्रेष्ठ सोमबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा पनि सहभागी भएर बाँकेको कोरोना महामारीको अवस्थाबारे सम्बद्ध निकायसँग जानकारी लिएका थिए ।