२१ भाइल रेम्डिसिभिर बिना बिल बिक्री गर्ने गौतम बुद्ध फार्मेसीलाई २ लाख जरिवाना

नेपालगन्ज : कोरोना संक्रमितलाई लगाईने रेम्डिसिभिर इन्जेक्सन बिल नकाटेर बिक्री गर्ने नेपालगन्जको गौतम बुद्ध फार्मेसीलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको परिसरभित्र गौतम बुद्ध फार्मेसीलाई संयुक्त बजार अनुगमन टोलीले जरिवाना गरेको हो । फार्मेसीमा आएको रेम्डिसिभिर इन्जेक्सनको बिक्रि र मौजाद अवस्था चेकजाँच गर्दा २१ भाइल इन्सेक्सनको बिक्रीको कुनै रेडर्क नभेटिएपछि अनुगमन टोलीले कारवाही गरेको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।
फार्मेसीमा चैत्र र वैशाख महिनामा ७०७ भाइल रेम्डिसिभिर इन्जेक्सन आएकोमा त्यसमध्ये ३६६ कोहलपुर शिक्षण अस्पतालमा रहेको फार्मेसीमा पठाइएको, २५८ भाइल इन्जेक्सन नेपालगन्जबाट बिक्री गरिएका देखिएको, ५१ भाइल अस्पताल र फार्मेसी स्टाफहरुलाई दिइएको, ११ भाइल स्टक रहेको देखिएको देखिएको थियो । तर २१ भाइल रेम्डिसिभिर इन्जेक्सन बिना बिल बिक्री वितरण गरेको पाइएकोले अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कसुर गरेकोमा जरिवाना गरिएको पौड्यालले बताए ।
कोभिड संक्रमितको उपचार अस्पतालका चिकित्सकको सल्लाहमा बिक्री गर्न पाइने रेम्डिसिभिर इन्जेक्सनको बजारमा कालो बजारी गरी उपभोक्ता ठगी गरेको गुनासोका आधारमा नेपालगन्ज र कोहलपुरमा रहेका फार्मेसीहरुको अनुगमन गरिएको उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतमले बताए । उक्त रेम्डिसिभिर इन्जेक्सनको बजार मूल्य प्रति १ भाइल ५ हजार १ सय रुपैयाँ रहेकोमा कालो बजारी गरि नेपालगन्जमा विभिन्न औषधी पसलले ३० हजार रुपैयाँमा बिक्री भइरहेको उपभोक्ताको गुनासो गरेका थिए ।