कोरोनाबाट बर्दिया गुलरियाका २१ वर्षे करणको निधन

कोरोनाबाट मृत्यु भएका २१ वर्षका करण बाँकेका अस्पतालमा उपचार गराइरहेका संक्रमितमध्ये सम्भवतः सबैभन्दा कान्छा हुन्

नेपालगन्ज : कोरोना संक्रमणबाट बर्दियामा २१ वर्षका युवाको मृत्यु भएको छ । बाँकेका अस्पतालमा उपचार गर्न आएका संक्रमितमध्ये सम्भवतः सबैैभन्दा कान्छा व्यक्ति हुन् । यसअघि दाङकी २३ वर्षीया नर्सको कोरोनाबाट ज्यान गएकोे थियो ।
गुलरिया नगरपालिका वडा नं. ६ का करण थापा मगरको सोमबार राति ६ बजे नेपालगन्जको भेरी अस्पतालमा निधन भएको हो । उनी नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरका विद्यार्थी हुन् । मृतक करणका बुबा रेशम थापा मगरले मेरो खुुसीसँगको मोबाइल सम्पर्कमा भने, ‘आमा र छोरा दुबैलाई कोरोना भएको थियो । आमा बर्दियामै आइसोलेसनमा थिइन् । हिजो निको भएर छोरालाई भेट्न अस्पताल आएकी थिइन् । छोरोको निधन भयो ।’
उनका अनुसार करणलाई सुरुमा ज्वरो आएको थियो । दुई तीन दिन औषधि खाएपछि ज्वरो निको भयो । त्यसपछि लगातार खोकी लाग्यो । अनि कोरोना परीक्षण गरिएको थियो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बर्दियाका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले १७ वैशाखमा कोरोना रिपोर्ट पोजेटिभ आएका उनलाई २५ वैशाखमा भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरेको बताए ।
गएको २४ घण्टामा मात्र भेरी अस्पतालमा ५ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना गरी बर्दियामा ६ जनाको ज्यान गएको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । मंगलबार बिहान १०ः३० बजेसम्म बर्दियामा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ५३ पुगेको छ । कोरोना संक्रमणको मारमा दीर्घरोगी र वृद्धवृद्धा बढि पर्ने गरेको बताइँदै आए पनि युवा अवस्थाका व्यक्तिको समेत निधन भइरहेकाले महामारीबाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न श्रेष्ठको सुझाव छ ।