गाउँटोलमै अक्सिजनसहितका आइसोलेसनबाट संक्रमितलाई राहात
नेपालगन्ज : बाँकेका स्थानीय तहले गाउँटोलमै अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाएका कारण संक्रमितलाई राहात मिलेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, अधिकारकर्मी वसन्त गौतमसहितको टोलीले खजुरा र बैजनाथ गाउँपालिकाका आइसोलेसन सेन्टर र कोभिड विशेष अस्थायी अस्पतालको अनुगमनका क्रममा संक्रमित र उपचारमा संलग्न स्वास्थ्यकर्मीले अक्सिजनसहितको उपचारबाट संक्रमितलाई जटिल स्वास्थ्य समस्याबाट जोगाएको बताएका हुन् । अनुगमनका सदस्य गौतमले मेरोखुसीसँग भने, गाउँटोलमै अक्सिजनसहितको आइसोलेसन सेन्टरबाट लाभ मिलेको भन्दै सेवाग्राही खुसी छन् ।
राधापुर स्वास्थ्य चौकीको आइसोलेसनमा ४ पुरुष र १ महिला छन् । २ जना संक्रमितलाई अक्सिजन दिइएको छ । जहाँ एचए दीपक ढकाल र सिनियर अनमी रन्जना घर्ती संक्रमितको उपचारमा खटेका छन् । डा.मधु अर्याल एक दिन बिराएर आइसोलेसनमा आउने गरेको संक्रमितले अनुगमन टोलीलाई जानकारी गराए । केन्द्रमा बाथरुम छैन भने एउटा मात्र शौचालय छ ।
खजुराको जनक शिक्षा सामग्री केन्द्रमा १ महिला सहित ४ संक्रमित छन् । त्यहाँ बिरामीलाई खाना, पानीको ब्यवस्था छ । सामान्य औषधी दिइन्छ भने एन्टिवायोटिक र महंङ्गा औषधी बिरामीलाई किन्न लगाएको छ । महिला र पुरुष संक्रमितलाई एउटै हलमा राखिएको छ ।
जहाँ डा. पूजा सुनार र डा.कृष्ण आचार्यको निगरानीमा बिरामीको उपचार भइरहेको छ । त्यहाँका बिरामीको ल्याब टेष्ट र एक्सरे गर्न सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लैजाने गरेको सिनियर अहेव सुदिप पौडेलले जानकारी दिए ।
बैजनाथ गाउँपालिकाको बनकटवामा निर्माण गरिएको कोभिड १९ अस्थायी अस्पतालमा १ महिलासहित ३ संक्रमित छन् । भर्ना भएका २ जनालाई सिलिण्डरमार्फत अक्सिजन दिइएको डा. प्रदीप चौधरीले बताए । त्यहाँ पनि खानपानको ब्यवस्था छ ।
सरकारले कोरोना संक्रमित बिरामीको निःशुल्क ब्यवस्था मिलाएको बताए पनि सबैले सुविधा पाएका छैनन् । एउटै पालिकाको कुनै आइसोलेसन सेन्टरमा संक्रमितलाई औषधि र खाना नास्ताको ब्यवस्था गरेको छ भने त्यही पालिकाको अर्को आइसोलेसनमा त्यस्तो सुविधा दिइएको छैन । भौतिक पूर्वाधार पनि पर्याप्त छैनन् । गाउँटोलमै अक्सिजनसहितका आइसोलेसन स्थापना हुनुले संक्रमितलाई जटिल स्वास्थ्य समस्या हुनबाट जोगाएको स्वास्थ्यकर्मीले अनुगमन टोलीलाई बताएका थिए ।