भेरी अस्पतालमा आवेगका कारण घटना घटेको हो : प्रजिअ गेलाल (भिडियोसहित)

नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले १३ जेठमा भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मीमाथि भएको घटनालाई आवेगका कारण भएको बताएका छन् ।

शिवराम गेलाल (प्रजिअ, बाँके)

सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टको संयोजकत्वमा गठित ७ सदस्सीय छानबिन समितिले तयार गरेको छानबिन गरेको प्रतिवेदन बुधबार नेपालगन्जस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रजिअ गेलालले मृतक रावतका २ भाइ र छोरा गरी ३ जनाको मात्र घटनामा संलग्नता रहेकाले नियोजित नभइ आवेगको परिणाम भएको बताए । उनले भने, ‘यो पूर्वनियोजित नभइ तत्कालीन अवस्थामा आएको आवेगको कारणबाट यो घटना घटेको हो ।’ समितिले ३ दिनको समयसीमामा प्रतिवेदन तयार गरेर प्रजिअ गेलाललाई बुझाएको थियो । समितिले प्रतिवेदनमा विभिन्न २० बुँदे कमी कमजोरी औल्याउदै २५ बुँदे सुझाव दिएको छ ।
दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा १३ जेठको राति ८ बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावत, भरत र छोरा लोकराजले अस्पतालका स्वास्थ्यकर्र्मीमाथि आक्रमण गर्दै तोडफोड गरेका थिए ।