‘बाँके तीन वर्षभित्र बाल विवाह मुक्त हुने’

नेपालगन्ज : बाल विवाह रोकथाम परियोजनाले बाँके जिल्लालाई तीन वर्षभित्र बाल विवाह मुक्त घोषणा गरिने लक्ष्य लिएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपालले सन्चालन गरेको तीन वर्षे यो परियोजनाले यो आर्थिक वर्षमा बाँकेका २० वटा वडालाई बाल विवाह मुक्त घोषणा गर्ने लक्ष्य लिएको बरिष्ठ परियोजना अधिकृत विनिता आरसीले जानकारी दिइन् ।
परियोजनाले शुक्रबार नेपालगन्जमा आयोजना गरेको बाल विवाह रोकथाममा सन्चार क्षेत्रको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले जिल्लाका ८ वटै स्थानीय तहमा बाल विवाह परियोजना सन्चालन गरेको बताइन् । कार्यक्रममा अन्नपूर्ण पोस्ट् दैनिकका उपसम्पादक शंकरप्रसाद खनालले बाल विवाह र मिडिया विषयमा सहजीकरण गरेका थिए । उनले बाल विवाहको विषय हरेक मिडियाको प्राथमिकतामा पर्ने जानकारी दिँदै पत्रकारलाई बाल विवाह सम्बन्धी खोजमूलक समाचार लेख्न सुझाव दिएका थिए ।
कार्यक्रममा प्लान इन्टरनेशनलकी आशा बुढा, स्याकका अध्यक्ष शिवलाल पाण्डे, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष रुपा गहतराज, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, पत्रकारहरु कमल डाँगी, सोम गुरुङ, रामु केसीले बाल विवाह न्यूनिकरणमा मिडियाको भूमिका विषयमा धारणा राखेका थिए ।