हरेक दिन भारतबाट ७ हजार फर्कँदै

नेपालगन्ज : भारतका विभिन्न राज्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि हरेक दिन स्वदेश फर्कने बढिरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको जमुनाहास्थित हेल्थ डेक्सका अनुसार बुधबार र बिहीबबार मात्र साढे १५ हजार फिर्ता भएका थिए । ती सबैको कोरोना जाँच गरिएको थियो ।
उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार बुधबार ६ हजार ८ सय ९६ र बिहीबार ८ हजार ७ सय ५० जनाको कोरोना जाँच गरिएको थियो । ती अधिकांश भारतबाट स्वदेश फर्केका थिए ।
हेल्थ डेक्सले १०३ डिग्री ज्वरो आएका एक जना भारतीय नागरिकलाई भारततिरै फर्काएको थियो । उपमहानगरपालिकाले २० फागुनदेखि सीमा नाका जमुनामा चेकजाँच गरिरहेको छ । जमुनाहाका अलावा नेपालगन्ज विमानस्थल, उमहानगरको कार्यालयमा पनि कोरोना जाँच भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले नरैनापुर गाउँपालिकाको सुइँया नाकामा पनि कोरोना जाँच गरिरहेको छ ।