नानपारा-नेपालगन्ज २२ किलोमिटर पैदल यात्रा !

मेरो खुसी संवाददाता
जमुनाहा (बाँके) : कोरोना भाइरसको त्रासका कारण भारतका विभिन्न राज्यबाट घर फर्कन लागेका नेपालीले आइतबार २२ किलोमिटर पैदल यात्रा गर्नु परेको थियो ।
बिहान ७ बजेसम्म गाडीहरुले रुपैडियासम्म ल्याएका थिए । बिहान ६ बजेदेखि ७ बजेसम्म मात्र एक हजार २८ जना एकैपटकमा फर्केका छन् । दिउँसो आइपुगेको बस भने रुपैडियाभन्दा १९ किलोमिटर दक्षिण नानपारामै रोकिएका थिए । जमुनाहास्थित नेपालगन्ज उपमहानगरपालिकाको कोरोना जाँच हेल्थ डेक्सका एच.ए. धनप्रसाद न्यौपानेले तीन बजेतिर आउने यात्रीहरुले १९ किलोमिटर पैदल आउनु परेको गुनासो सुनाएका थिए । भारतबाट फर्कनेहरु ५ देखि ७ बजेसम्म बिहान र १ बजे दिउँसो आउने गर्थे । दिउँसोको गाडी नानपारामै रोकिएकाले दिउँसो तीन बजेतिर मात्र यात्रुहरु आएका थिए । रुपैडियाबाट ३ किलोमिटर पैदल यात्रा गरेपछि नेपालगन्जको चौलिका चोकमा मात्र बसमा चढ्न सकिन्छ । शनिबार मात्र भारतबाट एघार हजार ६ सय ८२ जना स्वदेश फर्केका थिए ।