कोरोना भाइरसको परीक्षण भेरी अस्पताल नेपालगन्जमै हुँदै

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसहित ६ ठाउँमा प्रयोगशाला स्थापना गरिने : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
फोटो : इन्टरनेटबाट

मेरो खुसी संवाददाता

नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को परीक्षण अब नेपालगन्जमै गर्ने जनाएको छ ।
मन्त्रालयका सचिव यादव कोइरालाको भनाइ उद्दृत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र रहेको परीक्षणलाई प्रादेशिक रुपमा विस्तार गर्दा नेपालगन्जको भेरी अस्पतालमा परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको बताए । नेपालगन्जका साथै वीर अस्पताल, धुलिखेल, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणको व्यवस्था मिलाउन लागिएको हो ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मंगलबार भिडियो कन्फ्रेन्स सन्देशमार्फत प्रयोगशालाको क्षेत्र विस्तारबारे भनेका छन्, ‘हामीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तुरुन्तै सुरु गर्दैछौं । त्यसपछि धुलिखेल र वीर अस्पताल तीन ठाउँमा विस्तार गर्ने भनेका हौ । प्रदेशस्तरमा पनि कुन विधिमा कसरी गर्ने भनेर कुरा अगाडि बढाइरहेका छौं ।’ भिडियो कन्फ्रेन्समा प्रवक्ता देवकोटालाई पोखरा र नेपालगन्जमा परीक्षण गर्ने कुरा छुटेको कुरा बताउने व्यक्ति मन्त्रालयका सचिव कोइराला भएको प्रेस संयोजक तिवारीले बताए । प्रवक्ता देवकोटाले धरान, वीर र धुलिखेलमा मात्र विस्तार हुने बताएका छन् ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार नै बसेको बैठकले प्रादेशिक स्तरमा धरान, पोखरा र नेपालगन्जमा कोरोना भाइरसको परीक्षण यथाशीघ्र सुरु गर्ने निर्णय गरेको थियो । समितिले आवश्यक परीक्षण सामग्री र तालिमको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयलाई निर्देशन दिएको जनाएको छ ।