फ्रान्सबाट संक्रमितसँगै आएका बाँकेका तीन जनालाई क्वारेन्टाइनमा राखियो

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइन । फोटो : मेरो खुसी

मेरो खुसी संवाददाता

नेपालगन्ज :  विदेशबाट आएका बाँकेका तीन जनालाई नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । चैत्र ४ गते फ्रान्सबाट कतारहुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएपछि सोही विमानमा आएका बाँकेका तीन जना व्यक्तिको पहिचान गरेर बुधबार क्वारेन्टाइनमा राखिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहका अनुसार बाँकेका चार जना रहेको जानकारी प्राप्त भए पनि तीन जनालाई पहिचान गरेर महेन्द्र बहुमुखी क्याम्पस भित्र रहेको क्वारेन्टाइनमा राखिएको छ । उनीहरु बाँकेको पिप्रहवा, साईगाउँ र बनकटवा घर भएको भएको बताइएको छ । अर्का एक जना भने बर्दियाका हुनसक्ने प्रवक्ता प्रहरी नायब सिंहले बताए । कोरोना संक्रमित किशोरी रहेको जहाजमा रहेका सबैलाई क्वारेन्टाइनमा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन दिएको थियो ।