४ महिने छोरीसहित विष्ट दम्पत्ति २४ घण्टा सीमामा अलपत्र

४ महिनाकी प्रियाको मुहारभरी लामखुट्टेले टोकेर राता-राता फोका निस्केका छन्
नेपालगन्जको जमुनाहा नाकामा चार महिनाकी छोरी प्रियासहित विष्ट दम्पत्ति । फोटो : मेरो खुसी

मेरो खुसी संवाददाता

मुनाहा (बाँके) : नेपालगन्जको सीमा नाका जमुनाहामा चार महिनाको शिशुसहित एक दम्पत्ति २४ घण्टादेखि अलपत्र परेका छन् ।

दैलेख जिल्लाको नारायण नगरपालिका-११ का रामबहादुर विष्ट र उनकी पत्नी विष्णा विष्ट दुई नाबालक सन्तानसहित बुधबारदेखि सीमा नाकामै रोकिएका हुन् । उनीहरुकी छोरी प्रिया ४ महिनाकी मात्र छ । छोरा ४ वर्षको भयो ।
विष्णाले दुःखेसो पोखिन, ‘आफ्नै देशमा सुरक्षित हुन्छौं । मरे पनि आफ्नै देशमा मरौंला भनेर आएका हौं । हिजो आएका हौं । अहिलेसम्म जान दिएनन् ।’
उनकी छोरी प्रियाको मुहारभरी लामखुट्टेले टोकेर राता राता फोका निस्केका छन् । उनीहरुलाई डेंगु होला भन्ने डर लागिरहेको छ ।
विष्ट दम्पत्तिसहित १६ जना नेपाली भारतको गुजरातबाट ६० हजार भारतीय रुपैयाँमा गाडी रिर्जब गरेर बुधबार दिउँसो ५ बजे जमुनाहा नाकामा पुगेका हुन् । उनीहरुले रातभरी ट्रिपालमै बिताए । बिहीबार अपरान्ह ५ बजेसम्म पनि उनीहरु सीमा नाकामै थिए । उनीहरुको समूहमा दुई जना महिला र दुई बालक पनि छन् । एक जना सुर्खेतका वाहेक सबै दैलेखका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले प्रहरी प्रशासनको समन्वयमा सबैलाई सुर्खेतस्थित प्रादेशिक क्वारेन्टाइनमा पठाइने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *