कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि सहयोग

मेरो खुसी संंवाददाता
जाजरकोट : पहाडी क्षेत्र विकास अभियान, जाजरकोटद्वारा सन्चालित अवसर परियोजनाको आर्थिक सहयोगमा कुशे गाउँपालिकाद्वारा प्रशासनिक केन्द्र थर्पुभार्मामा स्थापना गरिएका स्वास्थ्य सहायता कक्षमा दैनिक डेढ सय देखि दुई सय नागरिकको स्वास्थ्य परीक्षण हुने गरेको छ । गाउँपालिकाको प्रवेशद्वार पाँचकाटिया, बाटुल्यमा गाउँपालिका भित्रिने र बाहिरिने नागरिकहरुको स्वास्थ्य परिक्षण गर्ने गरिएको परियोजना संयोजक रोशन थापाले बताए ।
परीक्षण गरिएकामध्ये कोरोना संक्रमण भएको आशंका गर्नुपर्ने कोही पनि नागरिक फेला नपरेको गाउँपालिका स्वास्थ्य शाखा इन्चार्ज कृष्णबहादुर रोकायले दाबी गरे । माइकिङ्गबाट गाउँपालिकाका सबै गाउँ–टोलमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण सम्बन्धिका सूचना प्रवाह गरिरहेको छ । परियोजनाले मानिसहरु एकै ठाउँमा भेला नहुन, एक व्यक्तिबाट अर्को व्यक्तिबीच कम्तीमा पनि ३ फिटको दूरी कायम गर्नुपर्ने, अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, घण्टा–घण्टामा साबुन पानीले मिचीमिची हात धुने, लकडाउन अवधिभर आफ्नै घरको सुरक्षित रहने जस्ता सन्देशहरु गाउँ–टोलमा प्रवाह गरिएको छ ।
कोही कसैलाई उच्च ज्वरो आएमा, थकाइ तथा सुख्खा खोकी लागेमा तत्काल स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउन पनि माइकिङ्ग भइरहेको छ । रोकायले भने, ‘विदेश तथा भारतबाट आउनु भएका महानुभावहरु २ हप्तासम्म कोही कसैको सम्पर्कबाट टाढा रहेर होम क्वारेन्टाइनमा बसिदिनु होला । २ हप्ता भन्दा अगाडि आउनु भएका महानुभावहरुले बाटुले बजारमा रहेको स्वास्थ्य सहायता कक्षमा पुगेर स्वास्थ्य जाँच गराउनु होला ।’