७ दिनभित्रै भेरी अस्पतालमा कोरोना जाँच्ने स्वास्थ्य मन्त्रालयको तयारी

ढिलोमा एक साताभित्रै भेरीमा कोरोना जाँच हुने, नेपालगन्ज र पोखरामा एकैसाथ जाँच हुन्छ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटा
फाइल फोटो

मेरो खुसी संवाददाता
नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढिलोमा एक साताभित्रै नेपालगन्जको भेरी अस्पतालमा नोबेल कोरोनाको जाँच गर्ने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोेटाले शनिबार साँझ मेरो खुसी डटकमसँगको टेलिफोनमा सम्पर्कमा केही दिनभित्रै नेपालगन्जमा कोरोना जाँच हुने बताए ।
उनले भने, ‘ हामीले शनिबारदेखि धरानमा कोरोना जाँच सुरु गरेका छौं । कोरोना जाँचका लागि आवश्यक पर्ने उपकरणहरु लिन जहाज शनिबार चीन उडिसकेको छ । जहाज फर्कने बित्तिकै नेपालगन्जमा कोरोना जाँच चाँडै सुरु हुन्छ ।’ प्रदेश ५ का अन्य जिल्लाका अस्पतालमा कोरोना जाँच हुने चर्चा चलिरहेको बेला प्रवक्ता देवकोटाले भेरी अस्पतालमै कोरोना जाँच हुने पनि पुष्टि गरे ।’
अस्पतालमा आवश्यक पर्ने उपकरण र जनशक्तिको विवरण तयार भइरहेको पनि उनले बताएका छन् । भेरी अस्पतालमा मेडिकल विभाग प्रमुख फिजिसियन डा.राजन पाण्डे पश्चिम नेपालका जुनसुकै अस्पतालमा कोरोना जाँच सुरु गरिए पनि नेपालगन्जमा अनिवार्य रुपमा जाँच गर्ने व्यवस्था गर्न लागेकोमा खुसी ब्यक्त गरेका छन् । ‘पश्चिमका सबै ठूला अस्पतालमा कोरोना जाँच गर्न सके राम्रो हो । तत्काल भेरी अस्पतालमा सुरु गर्दा पनि यस क्षेत्रलाई समेट्न सकिन्छ’, उनको जोड छ । यो पनि पढ्नुस् https://merokhusi.com/?p=373
अस्तपालका अर्का फिजिसियन डा.खगेन्द्रजंग शाहले जसरी पनि नेपालगन्जमा कोरोना जाँच गर्नुपर्नेमा जोड दिएका छन् । उनी भन्छन्, ‘नेपालगन्जमा कोरोना जाँचको व्यवस्था हुँदा प्रदेश ५ का सबै जिल्ला र कर्णाली र सुदूरपश्चिम प्रदेशले पनि सहजै सेवा पाउँछन् ।’ केही दिन अघि भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापासँग कुरा गर्दा उनले कोरोना जाँचबारे मिडियामा समाचार प्रकाशित भएको आफूले पढे पनि औपचारिक रुपमा कोरोना जाँचबारे पत्राचार वा जानकारी नभएको प्रतिक्रिया दिएका थिए ।