जानकी गाउँपालिकामा कार्यविधि बनाएर राहात वितरण सुरु

जानकी गाउँपालिका ४ खजुराखुर्दमा राहात वितरण गरिँदै । फोटो : हरिबहादुर खत्रीको फेसबुकबाट

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकाले कार्यविधि बनाएर मात्र सोमबारदेखि राहात वितरण सुरु गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीका अनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहात वितरण कार्यविधि २०७६ पारित गरी राहात वितरण थालिएको हो । हरेक वडामा वडाध्यक्षको संयोजकत्वमा कार्यपालिका सदस्य वडा सदस्य, राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधि सदस्य र वडा सचिव सदस्य सचिव सम्मिलित टोलीले राहात वितरण गर्ने व्यवस्था छ ।
प्रमुख प्रशासकीय अधिकृत खत्रीले भने, ‘आजबाट वडा नं. ४ खजुराखुर्द र वडा नं. ५ बेलहरी क्षेत्रबाट राहात वितरण सुरु गरेका छौं । भोलिदेखि सबै वडामा राहात वितरण हुनेछ ।’ दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने विपन्नलाई वितरण गरिएको राहातमा सामाजिक दुरी पनि कायम गरिएको थियो ।
गाउँपालिकाले राहात वितरणका लागि ३१ लाख रुपैयाँ विनियोजन गरेको छ । सहयोगीबाट प्राप्त राहात पनि वितरण हुनेछ । गाउँपालिकामा एकद्वार प्रणालीबाट राहात वितरण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *