जमुनाहा नाकामा १८१ नेपालीको विचल्ली

जमुनाहा नाकामा अलपत्र नेपालीहरु । फोटो सौजन्य : उमा थापा मगर

मेरो खुसी संवाददाता
नेपालगन्ज : नेपाल सरकारको जहाँबाट आएको हो त्यही जानुपर्ने नीतिका कारण नेपालगन्जको सीमा नाका जमुनाहामा एक सय ८१ जना नेपालीको विचल्ली भएको छ । उनीहरुले तीन दिन नेपाली सीमा र तीन दिन भारतीय बजार रुपैैडियामा बिताएका छन् ।
सीमा नाका जमुनाहादेखि एक किलोेमिटर पश्चिममा नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुरस्थित निर्माणाधीन नेपाल भारत एकीकृत भन्सार जाँच चौकी (आइसीपी) को छेउमै खुला आकासमुनी रहेका उनीहरुलाई बुधबार साँझ सम्बन्धित जिल्लामा पठाउने भन्दै जमुनामा ल्याइएको थियो । उनीहरुले बुधबारको रात दशगजामै गुजारेका थिए ।
नेपाल–भारतका सीमा अधिकारी र जनप्रतिनिधिहरुको छलफलबाट उनीहरुलाई भारतीय पक्षले नानपारास्थित क्वारेन्टाइनमा राख्न सहमत भए पनि नेपालीहरु भारतमा जान नमानिरहेको प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले बताइन् । अलपत्र परेका नेपालीका विषयमा गृहमन्त्रालय र प्रधानमन्त्रीका स्वकीय सचिवसँग कुरा गर्दा नेपाल आउन दिन नहुने बताएको सांसद नमूना बताउँछिन् ।
अलपत्र नेपालीहरुलाई खानाको जोहो गरिरहेकी नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले नेपाल सरकारको नीतिका कारण नेपालीलाई स्वदेशमा ल्याउन बाधा भइरहेको बताइन् ।