सीमामा अलपत्र नेपाली : खुला आकासमा छानो पाउँदा खुसी (फोटो फिचर)

मेरो खुसी फोटो पत्रकार
जैसपुर (बाँके) : नेपालगन्ज उपमहानगरपालिका १६ जैसपुरमा बुधबार दिउँसो मेरो खुसी टिम पुग्दा सीमामा अलपत्र नेपाली अधिकांशमा राज्यप्रति आक्रोस थियो । खुला आकासमा रात बिताउनु परेको पीडा थियो । बुधबार रातिदेखि बिहीबारको आधा दिन पनि राज्यको नीतिविरुद्ध धावा बोेल्दै बित्यो, उनीहरुको । भारतको नानपारास्थित क्वारेन्टाइनमा पठाउन खोज्दा विद्रोह गरे । अड्डी कसे मरे पनि आफ्नो भूमि छोडिँदैन । चौतर्फी आलोचना र दवाबपछि राज्य नरम भयो । दशगजाको छेवैमा नेपालगन्जमा निर्माणाधीन सुख्खा बन्दरगाहमा टेन्ट टाँगेर क्वारेन्टाइन बनाइदियो ।
बिहीबार साँझतिर मेरो खुसी टिम क्वारेन्टाइन पुग्दा तिनै पीडित नेपाली युद्ध जितेका सिपाही जस्तै खुसी थिए । उनीहरुलाई खाजाको रुपमा सुरक्षाकर्मी फलफूल र पानी बाँड्दै थिए । विद्र्रोहको आगो ओकल्नेहरु भद्र भलाद्मी जस्तै शान्त भएर पालो पर्खेर खाजा लिँदै थिए । पीफर्म, ओढ्ने कम्मल र झुल बोकेर कोही टेन्ट रुपी घर स्याहादै थिए । कति विस्तारा मिलाउँदै थिए । त्यही भीँडमा जुम्लाका एक वयोवृद्ध सुल्फामा तखाखु खाँदै थिए । उनीहरु अब राज्यको निर्देशन पालना गर्ने भनिरहेका छन् । भारतका विभिन्न राज्यबाट आएका एक सय ८१ जनालाई ४५ वटा टेन्ट राखिएको हो । एउटा टेन्टमा चार जनादेखि पाँच जना बसिरहेका छन् । कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *