भारतमा उत्तर प्रदेश कोरोना संक्रमणको छैठौं स्थानमा, ६६० संक्रमित

नेपालगन्ज : नेपालको दक्षिणी छिमेकी देश भारतको उत्तर प्रदेश राज्य नोबेल कोरोना (कोभिड १९) संक्रमणको छैठौं स्थानमा छ ।
भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको बुधबार दिउँसो पौने ३ बजेसम्मको रेकर्ड अनुसार भारतका ३२ राज्यमध्ये मृत्युको आधारमा भने उत्तर प्रदेश ११औं स्थानमा छ । उत्तर प्रदेशमा अहिलेसम्म ५ जनाको मात्र मृत्यु भएको छ तर कोरोना संक्रमितको संख्या भने दिनदिनै बढ्दो अवस्थामा छ । यो प्रदेशबाट अहिलेसम्म निको भएर ५० जना घर फर्केका छन् ।
सबैभन्दा बढी महाराष्ट्र मृत्यु (१७८) र संक्रमित (दुई हजार ६८७) रहेको छ । त्यसपछि दिल्लीमा एक हजार पाँच सय ६१ संक्रमित र ३० जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा संक्रमित संख्या दिल्लीभन्दा आधा कम (७३०) रहे पनि ५० जनाको मृत्यु भइसकेको छ । तमिल नाडुमा मृत्यु (१२) र संक्रमित (एक हजार २०४), राजस्थान संक्रमित (९६९) र मृत्यु (३) को भएको छ ।
कोरोनाको विश्वव्यापी अभिलेख राख्ने वल्र्डोमिटर्स डटइन्फोका अनुसार ११ हजार चार सय ८७ जना संक्रमित रहेको भारतमा तीन सय ९३ जनाको मृत्यु भइसकेको छ । भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भने ९ हजार सात सय ५६ जना संक्रमित रहेकोमा तीन सय ७७ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ ।