भेरी अस्पतालमा कोरोना परीक्षण गर्न अझै तीन दिन लाग्ने

२५ चैत्रमै काठमाडौंबाट आएको प्रचारित पीसीआर मेसिन बुधबार मात्रै भेरीमा आयो, बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली रिएजेन्ट बोकेर मेसिन परीक्षण गर्न आउँदै
फाइल फोटो

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा नोबेल कोरोना भाइरस (कोभिड १९) को परीक्षण गर्न अझै कम्तीमा पनि तीन दिन लाग्ने भएको छ ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.गुणराज लोहनीले बिहीबार टेलिफोन सम्पर्कमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली रिएजेन्ट बोकेर मेसिन परीक्षण गर्न नेपालगन्ज आउन लागेको बताए । उनले भने, ‘हामी चाँडो सेवा दिने तयारीमा छौं । छिटोमा अबको तीन दिनभित्र नेपालगन्जमा कोरोना जाँच हुुने गरी हाम्रो तयारी भइरहेको छ । त्यसका लागि काठमाडौंबाट भोलि नै टोली नेपालगन्ज जाँदैछ ।’
२५ चैत्रमा भेरी अस्पतालमा कोरोना जाँच्ने पीसीआर मेसिन भित्रिएको प्रचार मात्र गरिएको थियो । काठमाडौंबाट ल्याइएको त्यो सामानमा पीसीआर मेसिन नै नभएको रहस्य पनि मन्त्रालयले खोलेको छ । ‘२५ गते पीसीआर मेसिन आएको मैले त थाहा पाउनु प¥यो नि ?’, सहसचिव लोहनीले ठट्यौली पारामा प्रति प्रश्न गरे ।

फाइल फोटो

भेरी अस्पताल प्रशासनले पनि बुधबार मात्रै पीसीआर मेसिन सप्लायर्सले दिल्लीबाट ल्याएर दिएको जनाएको स्वीकार गरेको छ । ‘हामीलाई पनि सुरुमा त पीसीआर मेसिन आयो भन्ने लाग्यो । सप्लायर्सले केही सामान पठाएर अरु सामान दिल्लीबाट मगाएको रहेछ । लकडाउनका कारण पीसीआर मेसिन आउन ढिला भयो’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले भने, ‘हामीले निजी क्षेत्रसँग रहेको पीसीआर मेसिन ल्याएर राखेका थियौं । त्योे प्रयोग गर्न नपाउँदै हामीले अर्डर गरेको सामान आइसकेको छ ।’
पीसीआर मेसिन नआएपछि अस्पताल प्रशासनले नेपालगन्जको एक निजी प्रयोगशालासँग रहेको पीसीआर मेसिन जडान गर्ने र उसैको प्राविधिक प्रयोग गर्ने तयारी गरेको थियो । टेण्डर खोल्दा ५ दिनको म्यादमा सामान दिने भनेको सप्लायर्सले पनि समयमै सामान दिन सकेको छैन । सामान नआउँदा सम्झौता रद्द गर्ने चेतावनीसहितको लिखित र मौखिक पत्राचार पनि गर्नु परेको अस्पताल स्रोतले जनाएको छ ।