‘डीडीसी महाप्रबन्धकलाई रातभर निद्रा लागेन’

समिति सभापति पूर्णाकुमारी सुवेदी, प्रदेश मन्त्री आरती पौडेल र डीडीसी महाप्रबन्धक रुद्रप्रसाद पौडेलले आयोजनालाई निर्देशनपछि पोखरेलले बुधबार ३० लिटर दूध बेचे
फाइल फोटो

नेपालगन्ज : दुग्ध विकास संस्थानको नेपालगन्ज दुग्ध वितरण आयोजनाले बुधबार किसान विष्णु पोखरेलबाट दूध खरिद गरेको छ ।
आयोजनाले प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णाकुमारी सुवेदी, प्रदेश ५ सरकार भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री आरती पौडेल र डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलको दबावमा बुधबार दूध खरिद गरेको हो । आयोजनाले मंगलबार र बुधबार दुई दिन दूध लिन बन्द गरेकाले पोखरेलको दूध खरिद नगरेको जनाएको थियो ।
कोहलपुर ८ पिपरीमा प्रकृति गाईपालन केन्द्रका किसान पोखरेलले डीडीसीले दूध खरिद नगरेको विरोधमा ४० लिटर दूध डीडीसीको ढोकामै दूध पोखेको समाचार मंगलबार मेरो खुसी डटकममा प्रकाशित भएको थियो । दूध पोखेको समाचार बुधबारसम्म धेरै अनलाइन मिडियामा प्रकाशित भएको थियो ।
‘प्रतिनिधिसभा समितिका सभापति पूर्णाकुमारी सुवेदीबाट खबर पाउने बित्तिकै मलाई रातभर निद्रा नै लागेन । डीडीसीका महाप्रबन्धकले मलाई फोन गरेर भन्नुभयो’, किसान पोखरेलले भने, ‘डीडीसीले नकिन्ने भएपछि बुधबार मैले बैकल्पिक बजारको व्यवस्थापन गरिरहेको थिए । महाप्रबन्धकको फोनपछि आज ३० लिटर दूध बिक्री गरे ।’
प्रदेश ५ का कृषि मन्त्री पौडेलले पनि दूध पोखेको विषयमा चासो दिएको उनले प्रष्ट पारे । डीडीसीको नेपालगन्ज दुग्ध वितरण आयोजनाका प्रमुख योगेन्द्र साहले बुधबार पोखरेलबाट दूध खरिद गरेको बताए । उनले बिहीबारदेखि अरु किसानको पनि दूध खरिद गर्ने बताए । उनले प्रष्ट पारे, ‘हिजोको हाम्रो समस्या समाधान भइसक्यो । आज हामीले उहाँको दूध खरिद गरेका छौं । भोलिदेखि सबैैलाई दूध ल्याउन मैले खबर गरिसकेको छु ।’