राजापुर र धनगढीमा गहुँ खरिद शुरु

नेपालगन्जमा कहिले हुने ?

मेरोखुसी संवाददाता: सरकारले आईतबारदेखि गहुँ खरिद गर्न सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीको टीकापुर, सत्ती र धनगढीबाट खरिद कार्य सुरु गरेको जनाएको छ । स्थानीय प्राथमिक खरिद समितिको निर्णय अनुसार सामाजिक दुरी कायम गरेर आजै देखि गहुँ खरिदका लागि काँटा लगाईएको कम्पनीको धनगढीस्थित क्षेत्रीय कार्यालयका प्रमुख अनिल श्रेष्ठले बताए । ‘काँटा लगाईएपनी आज पहिलो दिन भएर होला अहिलेसम्म किसानहरु बेच्न आएका छैनन’ उनले भने ‘खरिद कार्य शुरु भएको सुचना सम्प्रेषण गरीरहेका छौ ।’
त्यस्तै बर्दियाको राजापुरमा समेत भोली (सोमबार) देखि खरिद हुने गरी तयारी थालिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आधुनिक चामल काराखाना राजापुरका प्रमुख रेबन्त रावलका अनुसार सरकारले तोकेको मुल्य ३ हजार १५ रुपैया र निर्देशन अनुसार लागुहुनेगरी स्थानीय खरिद समितिको बैठक नबसेरै खरिद कार्य शुरु भएको हो । हाल कोरानाका कारण खरिद समितिले पछि अनुमोदन गर्नेगरी खरिद प्रकृया अगाडी बढाईएको रावलले मेरोखुसीलाई बताए ।
नेपालगन्जमा भने मंगलबार देखि मात्रै गहुँ खरिद गर्ने तयारी थालिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ । स्थानीय प्राथमिक खरिद समितिको बैठक बस्न नसकेका कारण भोली (सोमबार) बैठक बसेर मंगलवार देखि खरिद गर्ने तयारीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख भरतराज खनियाले बताए । कम्पनीले नेपालगन्जमा दुइबर्षपछि गहुँ खरिद गरिन थालेको हो ।
यसबर्ष नेपालमा कुल ३० हजार क्विन्टल गहुँ खरिद गरिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रवक्ता सर्मिला न्यौपानेका अनुसार यसबर्ष धनगढी, राजापुर, नेपालगन्ज र भैरहवावाट गहुँ खरिद गरिन लागेको हो । जसमध्य धनगढी र राजापुरमा १०/१० हजार क्विन्टल खरिद गरिने छ भने नेपालगन्ज र भैरहवामा ५/५ हजार क्विन्टल खरिद गर्न थालिएको प्रवक्ता न्यौपानेले मेरोखुसीलाई बताईन । सरकारले केही दिन अघि कृषकबाट खरिद गर्नको लागि गहुँको समर्थन मुल्य कायम गरेको थियो । प्रतिक्विन्टल ३ हजार १५ रुपैयामा खरिद गर्नेगरी कायम भएको मुल्यमै हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्न शुरु गरेको हो । लकडाउनको समयमा सामाजिक दुरी कायम गरेर सावधानी पुर्वक खरिद गर्न थालिएको कम्पनीले जनाएको छ ।