दोस्रो चरण थाहा नपाउँदै नेपालगन्जमा कोरोना तेस्रो चरणमा प्रवेश, महामारीको खतरा

‘कम्युनिटी ट्रान्समिसन’ महामारी पूर्वको अवस्था हो
नेपालगन्ज ८ मा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिँदै । फोटो सौजन्य : खम्ब पुन

नेपालगन्ज : दोस्रो चरणबारे थाहा नपाउँदैै नेपालगन्जको कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छ । डब्लुएचओका अनुसार समुदायस्तरमा कोरोना फैलिनुलाई तेस्रो चरण मानिन्छ ।
भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा.खगेन्द्रजंग शाह ‘कम्युनिटी ट्रान्समिसन’ महामारीको पूर्वसंकेत भएको बताउँछन् । उनले मेरो खुसीसँग भने, ‘संक्रमित व्यक्तिबाट समुदायस्तरमा कोरोना फैलिसकेको छ । यो भयावहको अवस्था हो । सो क्षेत्र पूरै सिल गरेर सबै जनाको कोरोना जाँच गर्नुपर्छ ।’
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रोटोकल अनुसार संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा (लोकल ट्रान्समिसन) संक्रमण सरेको अवस्थालाई दोस्रो चरण भनिन्छ ।नेपालगन्ज कोरोनाको दोस्रो चरणमा प्रवेश भएको कुनै पत्तो नै नपाएकाले तेस्रो चरण ‘कम्युनिटी ट्रान्समिसन’ हो । ‘कम्युनिटी ट्रान्समिसन’ महामारी पूर्वको अवस्था हो । त्यसैले अझै बढी सतर्कता अपनाउनुपर्ने र सावधानीका सबै उपायहरु अवलम्बन गर्नुपर्ने डा.शाहको सुझाव छ ।
संक्रमित व्यक्तिबाट समुदायका अन्य व्यक्तिमा कोरोना फैलिएपछि यहाँ झन जोखिम बढेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
संक्रमित ब्यक्तिबाट अन्य ब्यक्तिहुँदै समुदायस्तरमा सरिसकेका कारण नेपालगन्ज खतरा मोडमा पुगेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
नेपालगन्जमा पहिलो संक्रमित ब्यक्ति १० चैत्रमा भारतबाट फर्किएको थिए । डीएसपी रोडमा बसोबास गर्ने उनी यसबिचमा महेन्द्र पार्कस्थित अन्सारियन मस्जिदमा नमाज पढ्न र स्थानीयको घरैमा गएर बालबालिकालाई पढाउन जाने गरेको बताइएको छ । उनीसँग सम्पर्कमा रहेका ब्यक्तिको पहिचान गर्दै जाँदा महेन्द्रपार्क आसपासका ९० जनाको स्वाब शनिबार संकलन गरीएको हो । संकलित स्वाब मध्य आइतबार साँझसम्म ५५ जनाको पीसीआर बिधिबाट स्वाब परीक्षण भएकोमा १५ जनामा कोराना संक्रमण फेला परेको भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रकाशबहादुर थापाले जानकारी दिए ।
यी १५ जनामा पहिलो संक्रमितकै सम्पर्कमा आएका कारण कोरोना फैलिएको हो वा अरु नै पहिलो संक्रमित थिए भन्नेबारे अझै टुंगो लाग्न सकेको छैन् । परिवारका सदस्यसहित अझै ३५ जनाको नतिजा नआएका कारण यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।