किसानमा खुसीको लहर : राजापुरमा घरघरमै गहुँ खरिद

बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं. १ मा घरमै गहुँ खरिद गरिँदै । फोटो : मेरो खुुसी

राजापुर : बर्दियाको राजापुर क्षेत्रमा घरमै गहुँ खरिद गर्न थालिएको छ । लामो समयसम्म लकडाउनका कारण गहुँ बिक्री गर्न नपाएर समस्यामा परेका कृषकको सहजताका लागि भन्दै गाउँ घरमै पुगेर व्यवसायीहरुले गहुँ खरिद गर्न थालेका हुन् ।
राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आधुनिक चामल कारखानाले गहुँ खरिद गर्न शुरु गरे लगत्तै व्यवसायीहरु गाउँगाउँमा पुगेर खरिद गर्न थालेको राजापुर १ का स्थानीय रमेश जैसीले बताए । ‘खाद्यमा तीन हजार १५ रुपैया मूल्य छ’ उनले भने ‘गाउँमा ३ हजारको दरमा बिक्रि गर्न पाएपछि ढुवानी खर्च जोड्दा ठीक ठीकै भएको छ ।’
लकडाउनका कारण बजारमा जान पनि समस्या हुने भएपछि बर्दियाको राजापुर, गेरुवा लगायत विभिन्न क्षेत्रमा व्यवसायीहरु घर नजिकै काँटा लगाएर खरिद गर्न थालेका छन । कोरोना महामारीका कारण बिक्री वितरणका लागि बजारमा ढुवानी गर्न समस्या भएपछि गाउँमै बेच्न पाउँदा सहज भएको गेरुवा गाउँपालिका–६ नारायणपुरका कृषक चन्द्रकान्त लामिछानेले बताए । खाद्य कम्पनीले गहुँ खरिद शुरु गरेसँगै ब्यवसायीहरुले समेत खरिद गर्न शुरु गरेका हुन । कम्पनीले तीन हजार १५ रुपैयामा गहुँ खरिद गरेपछि राजापुरका केही व्यवसायीहरुले समेत सोही मूल्यमा खरिद गरिरहेको बताइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका मिल प्रमुख प्रमुख रेवन्त रावलले बजारमा तीन हजार २५ सम्म खरिद भएको जानकारी पाएको बताए । ‘लकडाउनको समयमा कृषकलाई बजारमा आउन समस्या मानेर होला कम्पनीमा दैनिक कम परिमाणमा गहुँ आइरहेको छ’ उनले भने ‘हामीले सोमबारदेखि यता करिव साढे आठ सय कुन्टल खरिद गरेका छौ ।’