नेपालका २१७ संक्रमितमध्ये अधिकांंश भारतबाट कोरोना सरेका (सार्ने ७ देशको सूचीसहित)

भारतले नेपालको सीमावर्ती क्षेत्रमा रेल सेवा सन्चालन गरेपछि विभिन्न राज्यमा रहेका संक्रमित व्यक्तिबाट नेपालमा थप कोरोनाको जोखिम बढ्ने खतरा रहेको

नेपालगन्ज : नेपालमा कोरोना संक्रमण पुष्टि भएका अधिकांश भारतबाट आएका व्यक्तिबाट सरेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार बिहानसम्मको तथ्याङ्क अनुसार दुई सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये दुई सय ५ जना त भारतबाट आएका ब्यक्तिबाटै कोरोना सरेका छन् । ती ब्यक्तिबाट समुदायस्तरमा कोरोना संक्रमण फैलिसकेको छ । देशमा सबैभन्दा बढी पर्सा जिल्लामा ८२ जना संक्रमित भेटिएका छन् । भारतपछि बेलायतबाट फर्केका ५ जनालाई कोरोना पुष्टि भएको छ । फ्रान्स र युएइबाट दुई दुई जना, चीन, बेल्जियम र साउदी अरबबाट फर्केका ब्यक्तिबाट एक एक जनामा कोरोना पुष्टि भएको छ ।
भारतले मंगलबारदेखि नै नेपालको सीमावर्ती क्षेत्रमा रेल सेवा सन्चालन गरेपछि विभिन्न राज्यमा रहेका संक्रमित व्यक्तिबाट नेपालमा थप कोरोनाको जोखिम बढ्ने खतरा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ ठूलो संख्यामा भारतमा रहेका नेपालीहरु आएमा कोरोना परीक्षण पनि सबैलाई गर्न नसक्ने बताउँछन् । उनले भने, ‘अब संक्रमित क्षेत्रबाट आएका शंकास्पद व्यक्तिको मात्र कोरोना परीण गर्न सकिन्छ । एकैदिन हजारभन्दा बढीको संख्यामा आएकाहरुको परीक्षण गर्न सम्भव हुँदैन ।’