बर्दियाकी संक्रमितलाई बाँकेमा खजुराको आइसोलेसनमा राखियो, परिवारद्वारा बालिकाको पुनः परीक्षण माग

नेपालगन्ज : बर्दियाको राजापुर नगपालिका ५ कि कोरोना संक्रमित बालिकालार्ई बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ ।

बर्दियामा आइसोलेसन कक्ष नभएपछि बाँके वा दाङ लैजाने भन्ने विषयमा छलफल भएको थियो । दाङका स्थानीय तहले विज्ञप्ती नै निकालेर बाहिरी जिल्लाका बिरामी आउन नदिने भनेपछि खजुरामा राखिएको हो । क्यान्सर अस्पतालको आइसोलेसन प्रदेश सरकारले बनाएको हो ।
मंगलबार राति उनलाई आइसोलेसनमा राखिएको हो । बालिका सधैं हजुरआमासँगै सुत्ने गर्थिन । हजुरआमालाई कोरोना नदेखेपछि परिवारका सदस्यले थ्रोट स्वाबको नमूना फरक परेको हुनसक्ने भन्दै बालिकाको पुनः परीक्षण गर्न माग गरेका छन् । ‘नानी सधैं हजुरआमासँगै सुत्थी । क्वारेन्टाइनमा पनि हजुरआमासँगै सुतेकी थिइ । हजुरआमालाई कोरोना किन देखिएन । यो अरु कसैैको नमूना हुनसक्छ । हामी पुनः परीक्षणको माग गर्छौ], परिवारको थ्रोट स्वाब संकलन गर्न गएका प्राथमिक स्वास्थ्य केन्द्र राजापुरको ल्याबमा कार्यरत वसन्त भट्टले उनीहरुको भनाइ उल्लेख गर्दै भने । यसैबीच बालिकासँगै क्वारेन्टाइनमा बसेका, क्वारेन्टाइनका भान्से, रिक्सावालासहेत ३९ जनाको स्वाबको नमूना संकलन गरिएको छ ।