नेपालगन्जका नगर प्रमुख राणा, उपप्रमुख थापा मगर, प्रदेश सांसद अन्सारीलगायत जनप्रतिनिधिको कोरोना रिपोर्ट नेगेटिभ

नेपालगन्ज : शनिबार नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणाले नेपालगन्जको टाँगा स्टेशनमा आफ्नो थ्रोट स्वाब संकलनको फोटोसहित स्टाटास लेखेका थिए, ‘मैले त स्वाब परीक्षण गराए, तपाईले नि ? कोरोना भाइरसका लक्षण देखिएमा वा आफूलार्ई कुनै त्यस्तो शंका लागेमा तुरुन्तै चेकजाँच गराइ सहयोग गरौं । आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं ।’
नेपालगन्जमा २३ जनामा कोरोना संक्रमण पुष्टि भइसक्दा पनि पहिलो संक्रमितबाटै सबैलाई कोरोना सरेको हो वा होइन भन्ने अझै पुष्टि भइसकेको थिएन । संंक्रमित क्षेत्रका वासिन्दा कोरोना परीक्षणका लागि तयार भएका थिएनन् । जनतामा त्रास थियो । उपमहानगरले जनप्रतिनिधिसहित नगरवासीलाई परीक्षणमा सहभागी बनाउने रणनीति लिएको थियो । नगर प्रमुखले कोरोना परीक्षण गर्नु र स्टाटस लेख्नुको तात्पर्य पनि परीक्षणले सबैलाई फाइदा पुग्ने र आफू बचेर अरुलाई संक्रमण हुनबाट जोगाउन सकिने सन्देश थियो ।
‘संक्रमित क्षेत्रका जनता परीक्षण गर्नदेखि डराइरहेका छन् । उनीहरुले परीक्षण गर्न नमानेपछि हामीले आफैबाट स्वाब दिन सुरु गरेर जनतालाई पनि सहभागी गराएका हौं’, डा.राणाले प्रष्ट पारेका थिए । नगरप्रमुख राणासँगै उपप्रमुख उमा थापा मगर, प्रदेशसभा सदस्य मो.याकूब अन्सारी, वडा अध्यक्ष र सदस्यहरु सबैले थ्रोट स्वाब संकलन गरेका थिए । यी सबैको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ ।
शनिबार एकैदिन टाँगा स्टेशनबाट एक सय ६२ जना र एकलैनीस्थित जामा मस्जिद क्षेत्रबाट ७५ गरी दुई सय ३७ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो नेपालगन्ज ८ का एक ३६ वर्षका पुरुषमा कोरोना पोजेटिभ भनेको पुष्टि गरेको थियो । त्यसदिन परीक्षण गराएका दुई सय ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

नेपालगन्जकी उपप्रमुख उमा थापा मगरको स्वाब संकलन गरिँदै

जनतासँग प्रत्यक्ष सरोकार राख्ने काममा जनप्रतिनिधि खटेका छन् । उनीहरु पनि कोरोनाको उच्च जोखिममा छन् । नेपालगन्जमा जनप्रतिनिधिले नै कोरोना परीक्षण गराएपछि नगरवासी परीक्षण गर्न किन डराउने ? यही प्रश्न नगरवासीले संक्रमित क्षेत्रका नगरवासीसँग गरिरहेका छन् । भेरी अस्पताल नेपालगन्जको मेडिकल विभाग प्रमुख डा. राजन पाण्डे भन्छन्, ‘संक्रमित लुकेर बस्ने हो भने कोरोना भुसको आगो जस्तै भित्रभित्रै सल्केर झन खतरा हुन्छ । संक्रमितसँग सम्पर्क भएका व्यक्ति सबैको परीक्षण गर्न जरुरी छ ।’