नरैनापुरका संक्रमित ५९ लाई नेपालगन्ज ल्याउन सुरु

नेपालगन्ज स् बाँकेको नरैैनापुर गाउँपालिकाका सोमबार पुष्टि भएका ५९ जना कोरोना संक्रमितलाई नेपालगन्जस्थित आइसोलेसनमा ल्याउन थालिएको छ ।
कोरोना संक्रमण पुष्टि भएको एक दिन बितिसक्दा पनि आइसोलेसन व्यवस्थापनमा समस्या भएपछि भर्खरै मात्र नेपाली सेनासहितको टोलीले नेपालगन्ज ल्याउन सुरु गरेको हो । नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोइन खानका अनुसार भर्खरै मात्र नेपाली सेनासहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले दुई वटा एम्बुलेन्समा संक्रमितहरुलाई नेपालगन्ज पठाएको हो । उनीहरुलाई लायन्स डेन्टल अस्पतालको आइसोलेसनमा राखिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरेना फोकल पर्सन नरेश श्रेष्ठले २८ जनालाई नेपालगन्ज ल्याइसकेको र अन्यलाई ल्याउन एम्बुलेन्स गएको बताए । उनीहरुमध्ये २५ जनालाई नेपालगन्जस्थित लायन्स डेन्टल हस्पिटलको आइसोलेसनमा, ३३ जनालाई कोहलपुरको पिपरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा र नाबालकसहितको महिला संक्रमितलाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको छ ।
नेपालगन्जमा रहेको आइसोलेसनमा ठाउँ अभाव भएपछि सोमबार उनीहरुलाई नरैनापुरस्थित लक्ष्मणपुर स्वास्थ्य चौकीमा राख्ने तयारी गरिएको थियो । बाँकेको दुर्गमा मानिने त्यहाँ बिजुलीको समेत सुविधा नहुँदा समस्या हुने भन्दै मंगलबार दिउँसो बसेको सरोकारवालासहित जिल्ला कोडिभ १९ संकट व्यवस्थापन केन्द्रकोे बैठकले नेपालगन्ज डेन्टल अस्पताल र पिपरीस्थित कृषि विकास बैंकको तालिम कक्षमा राख्ने निर्णय गरेको हो । यो निर्णय भएसँगै कोहलपुरका स्थानीयले विरोध जनाएका थिए ।
समयमै व्यवस्थापन कार्य हुन नसक्दा संक्रमित ५९ जना व्यक्तिहरु सोमबार रातभरी क्वारेन्टाइनभित्र अन्य सामान्य व्यक्तिसँगै बस्न बाध्य भएका थिए । यसले संक्रमित व्यक्तिसँगको सम्पर्कमा रहेका अरु व्यक्तिमा पनि कोरोना फैलिने खतरा बढेको छ । उनीहरुलाई मंगलबार बिहान मात्र त्यहाँबाट अलग राखिएको थियो ।
नरैनापुरमा सोमबार फेला परेका ५९ जनासहित गाउँपालिकामा मात्रै सङ्क्रमितको सङख्या ६८ पुगेको छ । यसअघि नै नरैनापुरमा एक जनाको मृत्यु भएको छ भने थप ८ जनामा सङ्क्रमण देखिएको थियो । ८ जनालाई भने दांगको बेलझुन्डीस्थित आइसोलेसन अस्पतालमा राखिएको छ ।