प्रेस संगठन बाँकेको ‘भर्चुअल प्रेस मिट’ श्रृङ्खला सुरु

नेपालगन्ज : प्रेस संगठन बाँकेले कोरोना कहरकाबीच स्थलगत समाचार संकलनको जोखिमबाट पत्रकारलाई मुक्त गर्न भर्चुअल पत्रकार सम्मेलन सुरु गरेको छ । यस्तो पत्रकार सम्मेलनमा कोरोना संक्रमण नियन्त्रणविरुद्ध भइरहेका काम कारबाहीबारे सरोकारवालाहरुले धारणा राख्ने र पत्रकारसँग अन्तरक्रिया हुनेछ ।
पहिलो श्रृङ्खलाको पत्रकार सम्मेलनमा शुक्रबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहलाई डाकिएको थियो ।
पत्रकार सम्मेलनमा जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारीसमेत रहेका सहायक प्रजिअ उपाध्यायले
कोरोनासँग सम्बन्धित सूचनालाई एकद्वार प्रणालीबाट प्रवाह गर्ने प्रतिबद्धता जनाएका थिए ।
कोरोनाका विषयमा सूचनाहरु समयमा नपाएको, सरकारी निकायले काठमाडौंका मिडियामा सूचना चुहाउने गरेको गुनासो गरेपछि उपाध्यायले एकद्वार प्रणालीबाट सूचना प्रवाह गरेर पत्रकारलाई सहज बनाउन सकारात्मक भएको प्रतिक्रिया दिएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शाहले भने भारतबाट नसोचेको संख्यामा व्यक्तिहरु फर्किएकाले क्वारेन्टाइनलाई मापदण्ड अनुुसार सन्चालन गर्न नसकिएको बताए । शाहले बिहीबारसम्म बाँकेमा ४९ वटा क्वारेन्टाइनमा झन्डै हजार पाँच सय जनालाई राख्दा न्यूनतम् पूर्वाधारको व्यवस्था नभएको स्वीकारे । उनले बाँके जिल्लामा कोरोना संक्रमणको जोखिम नियन्त्रण र संक्रमितहरुको ब्यवस्थापनका क्षेत्रमा भएका कामकारबाही बारेमा जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा बाँकेका अलावा अन्य जिल्लाका पत्रकारहरु पनि सहभागी भएका थिए । प्रेस संगठन नेपाल बाँके शाखाका अध्यक्ष डक्ट धितालले सम्भव भएसम्म हरेक दिन सरोकारवालाहरुको समय अनुसार ‘भर्चुअल मिट दी प्रेस’ लाई निरन्तरता दिने बताएका छन् ।