कोरोनाको त्रासबाट बच्न ‘समाचारको ब्रत’

नेगेटिभ समाचारले मानिसलाई थकाउँछ । मृत्युको समाचारले हामीलाई गलित थकित बनाउँछ । समाचारको ब्रत बसौं : योग तथा जीवनशैली विज्ञ अधिकारी

नेपालगन्ज : योग तथा जीवनशैली विज्ञ डा. राजु अधिकारी कोरोना भाइरस (कोभिड १९) को त्रासबाट जोगिन सर्वसाधारणलाई न्युज फास्टिङ (ब्रत बस्न) गर्न सुझाव दिएका छन् ।
भारतको हरिद्वारस्थित देवसंस्कृत विश्वविद्यालयबाट योग विज्ञान तथा मानव चेतना विषयमा विद्यावारिधि गरेका डा. अधिकारी जुनसुकै मिडियाको समाचार पढ्दा, सुन्दा र हेर्दा संसारभरी कोरोनाबाट मृत्यु र संक्रमणका खबर मात्र आइरहेकाले जनतामा थप त्रास मिल्ने भएकाले समाचार नहेर्ने ब्रत बस्नुपर्नेमा जोड दिएका छन् ।
उनी केही दिनदेखि आफूले ‘पेटको होइन समाचारको ब्रत’ बस्ने अभ्यास गरिरहेको बताए । ‘हप्तामा दुई तीन दिन न्युज फास्टिङ गरिदिउँ अर्थात समाचार नहेर्ने अभ्यास गरौं’, अमेरिकामा रहेका डा. अधिकारीले मेरो खुसी डटकमसँग सामाजिक सञ्जालमार्फत भएको कुराकानीमा भने, ‘नेगेटिभ समाचारले मानिसलाई थकाउँछ । मृत्युको समाचारले हामीलाई गलित थकित बनाउँछ । हप्तामा दुई तीन दिन समाचार नहेर्ने र फेसबुक नचलाउने फास्टिङ गरौं ताकी अन्तरमुख हुन सकौं । कोरोनाको त्रासबाट बचिन्छ ।’
उनी कोरोनाको औषधि पत्ता नलागेकाले मनौषधिबाट पनि कोरोना जित्न सकिने उपाय बताउँछन् । मनौषधिले मनलाई एक लयमा हिँडाउने भएकाले उनको सुझाव छ, ‘एक्लै अचिन्त्य चिन्तनमा डुब्नुभन्दा समूहमा सत्सङ गर्ने, स्वाध्याय गर्ने, जीवनोेपयोगी पुस्तकको अध्ययन गर्नुपर्छ । परिवारमा इन्डोर वा आउट डोर खेल के खेल्न सकिन्छ ?’ उनी नियमित रुपमा परिवारका सदस्यबीच सामूहिक योग प्राणायाम गर्न पनि सुझाव दिन्छन् । उनको दाबी छ, ‘मन प्रसन्न पनि भयो । आत्मिक विकास पनि भयो । टेन्सन, फस्टेशन, डिप्रेसन, एग्रेसन, रिग्रेसन, कोरोनाबाट बच्न सकिन्छ ।’