कोरोनासँग जुध्न योग

योग गर्दा शरीरको रोगप्रतिरोधात्मक क्षमता बढेर कोरोना भाइरससँग लड्न मद्दत गर्छ भने संंक्रमितले योगाभ्यास गर्दा रोगबाट छिटो निको हुने सम्भावना हुन्छ

नजानेर, महत्व नबुझेर वा व्यस्त जीवनशैलीका कारण हामी योग र ध्यान गर्न समय दिन सकिरहेका छैनौं । योेग–ध्यान, प्राणायाम त हाम्रो जीवन पद्दतीको अभिन्न पाटो नै हो । नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन हामी अहिले होम क्वारेन्टाइनमा छौं । कोरोनाबाट जोगिनका लागि रोगप्रतिरोधात्मक क्षमता चाहिन्छ । त्यसका लागि हामी योगबाट दैनिकी सुरु गर्र्नसक्छौं । मेरो खुसी डट कमले योग, ध्यान, प्राणायाम र त्यसको फाइदाबारे जानकारी दिँदै जानेछ । – सम्पादक

लेखक :  डा. आस्था पुडासैनी

संस्कृत शब्द योग ‘युज’ धातुबाट बनेको छ । जसको अर्थ जोड्नु भन्ने हुन्छ । महर्षि पतञ्जलीका अनुसार चित्तका वृत्तिको निरोध नै योग हो । हाम्रा मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्तिहरु उत्पत्ति र लय भइरहेका हुन्छन् । योगले अस्थिर मनलाई स्थिर बनाएर मानिसको शरीरभित्र रहेका रोगलाई निरोध गर्छ ।
योगको ज्ञान पाँच हजार वर्षदेखि अस्तित्वमा छ । सनातन धर्म वा हिन्दुद्वारा मानवलाई दिएको सबैभन्दा अनमोल उपहार नै योग हो । सबैलाई थाहा छ, योगमा शारीरिक आसनहरू हुन्छन् । यसरी आसन गर्नुलाई कतिले व्यायामको रुपमा मात्र बुझ्छन् । तर योगले त शरीरलाई मन र स्वाससँग जोड्ने काम गर्छ । योगमा आसानका साथै स्वासको व्यायाम वा प्राणायाम, ध्यान र विभिन्न अन्य ज्ञान पनि समावेश हुन्छन् । अब आफैले विचार गर्नुहोस्, यो पाँच हजार वर्ष पूरानो ज्ञान, आजको संसारमा कसरी सान्दर्भिक छ होला ?
योगले हाम्रो सम्पूर्ण शरीरलाई आराम दिन्छ । शरीरलाई उर्जा (शक्ति) प्रदान गर्छ । त्यत्ति मात्र होइन, योगका त फाइदै फाइदाहरू छन् । जुन तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न ।

 

योगका फाइदाहरु
– शारीरिक तन्दुरुस्ती
– वजन घटाउने
– भित्री शान्ति (मनको शान्ति)
– चिन्ता मुक्त
– रोगप्रतिरोधात्मक क्षमता बृद्धि
– राम्रो सम्बन्ध र राम्रो सामाजिक जीवन
– ऊर्जा बृद्धि
– अंतर्ज्ञानमा बृद्धि 
आजको व्यस्त जीवनशैलीमा संसारमा कसलाई योगका लाभको आवश्यकता छैन र ? योगबाट रोग मुक्त शरीर, तनाव मुक्त मन, आघात मुक्त चित्त निकै महत्वपूर्ण कुरा हो । तर, हामी कसरी यो हासिल गर्छौं ? हामीले यसलाई कहिले पनि सिकेनौं ? हामीले धेरै पुस्तकका ज्ञान सिकेका छौं । हामीले यो ज्ञान प्राप्त गर्न धेरै जीवन र समय खर्च ग¥यौं । दशकौं बित्यो तर मनलाई शान्त पार्ने, तनावमुक्त बन्ने जस्ता जीवन कौशल कुराहरू हामीले कहिले पनि सिकेनौं । आजको परिवर्तनशील संसारमा विश्वका धेरै भन्दा धेरै मानिसहरू शान्त मन र तनावमुक्त जीवनको खोजीमा छन् । यसलाई प्राप्त गर्ने सर्वोत्तम उपाय योग हो ।

कोरोना र योग
विश्वभर अहिले कोरोना भाइरस (कोभिड १९) को महामारी छ । यस्तो बेलामा आममानिसमा दुई किसिमको समस्याहरू उत्पन्न भएका छन्, शारीरिक र मानसिक । शारीरिक रूपमा यदि कोही कोरोना संक्रमित हुन्छ भने योगले के भूमिका खेल्नसक्छ, कोरोना संक्रमण हुनुअघि र संक्रमित भैसकेपछि ? हरेक दिन योग गर्दा हाम्रो शरीरको रोगप्रतिरोधक क्षमता प्रणाली बढ्छ जुन भाइरससँग लड्न मद्दत गर्दछ । तसर्थ, यदि कसैलाई कोरोना भाइरस छ र यदि हामी तिनीहरूसँग खुलासा (आमने सामने) हुन्छौं भने, योगासन नगर्नेहरूको तुलनामा दैनिक योग अभ्यास गर्ने व्यक्तिहरूमा छिटो स्वस्थ हुने सम्भावना बढी हुन्छ । त्यस्तै, यो सामान्य ज्ञान हो कि तनावले रोगप्रतिरोधात्मक शक्तिलाई कमजोर बनाउँछ । योगाभ्यासले तनावमुक्त बनाएर अन्ततः शारीरिक रुपमा बलियो बनाउँछ अर्थात व्यक्ति मानसिक रुपमा शक्तिशाली हुन्छ ।
लकडाउनका कारण हामी घरमा सिमित भएका छौं । अब के हुन हो ? कोरोना महामारीसँग कहिलेसम्म सामना गर्नुपर्ने हो भन्ने अनिश्चितताले मानसिक तनाव, बेचैनी र चिन्ता बढेको छ । त्यस्तो अवस्थामा योगले तनावमुक्ति, सकारात्मकता तथा मनमा दृढ आन्तरिक शान्तिले बच्ने उपाय दिन्छ । त्यस्तै, वैज्ञानिक दृष्टिकोणबाट पनि हेरौं । विभिन्न मुलुकहरुमा गरिएको अनुसान्धनले नियमित योगभ्यास गर्ना निम्न फाइदा हुने पुष्टि गरेको छ :
– कोर्टीसोल (तनाब सूचक हर्मन) घट्ने
– रोग प्रतिरोधात्मक शक्ति बढ्ने
– सकारात्मक सोच बढ्ने
– मस्तिष्कको क्षमता बढ्ने (शान्ति र एकाग्रता)
– लिपिड प्रोफाइल (रगतमा कोलेस्ट्रोलको मात्रमा) सुधार आउने
– एन्टी अक्सिडेन्ट बढ्ने (कोशिकहरुलाई फ्री -याडिकलको हानीबाट बचाउँछ
– मस्तिस्कको ग्रे म्याटर बढ्ने (६ महिनासम्म नियमित ध्यान गरेपछि)
(साभार : www.aolresearch.org)
आजको यस द्रूत गतिको जीवनशैलीमा रोगमुक्त शरीर, तनावमुक्त मन, आन्तारिक शान्ति, सुमधुर आपसी सम्बन्धका लागि नियमित योगाभ्यास अत्यन्तै जरुरी छ । आफूसँग भएको समयलाई अझ उत्पादकमूलक बनाउन र जीवनमा सच्चा सफलता (पेशा, मन र सम्बन्धमा सफलता) को निम्ति जीवनशैलीमा योग समावेश गर्न सकेका जीवनले नयाँ खुसीको बाटो समात्ने निश्चित देखिन्छ ।

(लेखक डा. पुडासैनीले वीपी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस गर्नु भएको छ । मास्टर्स इन अस्टियोपेथी (एसएसयू उडिसा, इन्डिया) को फाइनल इयरका विद्यार्थी उहाँ द आर्ट अफ लिभिङको योग प्रशिक्षक पनि हुनुहुन्छ ।)