कोरोना रेड जोन बाँकेमा साढे ११ सय प्रहरी क्रियाशील

नेपालगन्ज : देशकै सर्वाधिक कारोना जोखिमको सूचीमा रहेको बाँकेमा एक हजार एक सय ३५ जना प्रहरी खटिएका छन् ।
प्रेस संगठन बाँके शाखाले सोमबार नेपालगन्जमा आयोजना गरेको भर्चुअल प्रेस मिटमा बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले कोरोनाको उच्च जोखिम क्षेत्र भए पनि प्रहरीहरु सबै क्रियाशील भएको बताए ।
संक्रमितलाई आइसोलेसनसम्म लैजान, क्वारेन्टाइनको सुरक्षा, सीमा नाका र जिल्लावासीको शान्ति सुरक्षामा प्रहरी खटेको छ, उनले भने, कोरोनाको जोखिममा रहेका प्रहरीहरुलाई सुरक्षाका विधि अपनाउन निर्देशन दिएका छौं । उनीहरुलाई मास्क, सेनिटाइजर र आवश्यक पर्दा पीपीइ प्रयोग गर्न दिएका छौं ।
सुरक्षाका विधि अवलम्वन गर्दा गर्दै पनि नरैनापुरको कालाफाँटा प्रहरी चौकीका एक जवानलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । बाँकेमा अहिलेसम्म ६३ जना प्रहरीको मात्र कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । तीमध्ये नरैनापुरमा एक जनालाई कोराना संक्रमण देखिएको हो । कालाफाँटा प्रहरी चौकीमा रहेका ९ प्रहरीमध्ये चार जनाको मात्र कोरोना परीक्षण गरिएको थियो । संक्रमितको सम्पर्र्कमा रहेका थप ५ जनाको परीक्षण गर्ने तयारी भइरहेको छ ।