सामुदायिक वनका उपभोक्ताले एकैदिन २८ लाख विरुवा रोप्दै

फेकोफन रजत जयन्तीको अवसरमा विश्वमा कोरोना मुक्तिको कामना गर्दै १७ जेठमा हरेक वन उपभोक्ताको घरका द्वीप प्रज्वलन गर्ने
अर्चुअल प्रेस मिटमा धारणा राख्दै फोकोफन केन्द्रीय अध्यक्ष भारती पाठक

नेपालगन्ज : सामुदायिक वनका उपभोक्ताले एकैदिन २८ लाख विरुवा रोप्ने भएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को रजत जयन्ती (२५औं स्थापना दिवस)को अवसरमा वन समूहमा आबद्ध देशभरका २८ लाख घरधुरीमध्ये कम्तीमा एक वटादेखि पाँच वटासम्म बिरुवा रोप्ने महासंघले शुक्रबार आयोजना गरेको अर्भुचल प्रेस मिटमा केन्द्रीय अध्यक्ष भारती पाठकले जानकारी दिइन् ।
उनले भनिन्, ‘हामीले हरेक घरधुरीलाई कम्तीमा एउटादेखि पाँच वटासम्म विरुवा रोप्न सर्कुलर पठाएका छौं । उपभोक्ताले खेत, बारी, कान्ला र आँगनमा बिरुवा रोप्नुहुनेछ । फलफूल वा विशेष किसिमका विरुवाहरु रोप्न सक्नुहुनेछ ।’
०७७ सालभित्र सामुदायिक वनहरुमा २ करोड विरुवा रोप्ने लक्ष्य रहेको पाठकले बताइन् । सामुदायिक वनमा रहेका खाली ठाउँमा विरुवा रोपिनेछन् ।

रजत जयतीको अवसरमा वर्षभरी नै विविध कार्यक्रमहरु आयोजना गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । रजत जयन्तीको अवसरमा विश्वमा कोरोना मुक्तिको कामना गर्दै १७ जेठमा हरेक वन उपभोक्ताको घरका द्वीप प्रज्वलन गरिने पनि महासंघले जनाएको छ । महासंघका महासचिव विर्ख शाही र सचिव ठाकुर भण्डारीले कोरोना नियन्त्रण अभियानमा देशभर एक हजार चार सय वटा फोकेफनका भवनहरु क्वारेन्टाइनका रुपमा प्रयोग गर्न तयार गरेको जानकारी दिएका थिए । अहिलेसम्म प्रदेश ५ मा २१, सुदुरपश्चिम प्रदेशमा ३, कास्की र रामेछापमा गरी २९ स्थानमा क्वारेन्टाइन सन्चालनमा छन् । क्वारेन्टाइनको व्यवस्थापन स्थानीय तह र वन उपभोक्ता समूहले संयुक्त रुपमा सन्चालन गरिरहेको सचिव भण्डारीले प्रष्ट पारे ।