बजेटले उत्साही होइन, दुःखी बनायो : उद्योगी व्यवसायी

नेपालगन्ज : संघीय सरकारको बिहीबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटले निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्न नसकेको बाँकेका उद्योेगी व्यवसायीहरुले टिप्पणी गरेका छन् ।
बजेटका सम्बन्धमा नेपालगन्ज उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा अर्थशास्त्री, नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान र पूर्व सदस्य, नेपालगन्ज उद्योग वाणिज्य संघका वर्तमान र पूर्व पदाधिकारी, उद्योगी, व्यवसायीहरुले बजेटमा स्वास्थ्य, कृषि, पर्यटन र साना तथा मझौला उद्योगका लागि राहात महसुस गर्ने कार्यक्रम ल्याए पनि ठूला उद्योग, ‘ट्रेडिङ बिजनेश’ लाई उकास्ने राहातका कार्यक्रम बजेटमा नसमेटेको भन्दै सरकारको आलोचना गरेका थिए । कोरोना कहरबाट थलिएको निजी क्षेत्रलाई बजेटले दुःखी बनाएको धारणा राखेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ सदस्य कृष्णप्रसाद श्रेष्ठले बाँकेका लागि कुनै नयाँ योजना नआएको बताए । श्रेष्ठले भने,–‘सुख्खा बन्दरगाहा, सिक्टा जस्ता पूरानै योजनालाई निरन्तरता दिने भनिएको छ ।’ महासंंघका अर्का पूर्व सदस्य दामोदर आचार्यले पनि ‘बजेटले कोरोनाबाट ध्वस्त अर्थतन्त्रलाई पुनरजीवन दिने सम्भावना’ नरहेको दाबी गरेका थिए । आचार्यको भनाइ थियो, ‘बजेटमा साना तथा मझौला उद्योग, कृिष र स्वास्थ्य क्षेत्रलाई मात्र प्राथमिकता दिइएको छ ।’ महासंघकै अर्का पूर्वसदस्य अच्यूत प्रसाईले पनि कोरोनाबाट प्रभावित ठूला औद्योगिक क्षेत्रलाई बजेटले सम्बोधन नगरेको टिप्पणी गरे । स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकतामा राख्न जरुरी नै थियो तर अर्थतन्त्रका लागि उपलब्धीमूलक हुने देखिएन ।’
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले प्रदेश केन्द्रीत बजेट विनियोजनले बाँकेमा नयाँ योजना नआएको जिकिर गरेका थिए । ‘हामीले पहिले जस्तै अहिले पनि ठगिएको महसुस गरेका छौं’, उनले नेपालगन्जलाई प्रदेश राजधानी नदिएपछि एकपछि अर्को अवसर गुमाउँदै गएको स्मरण गर्दै भनेका थिए ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नन्दलाल बैश्यले आइसीपी बनाउने कुराको स्वागत गरे पनि विषम परिस्थितीमा आएको बजेटबाट निजी क्षेत्रको अपेक्षाकृत नभएको बताए ।
अर्थशास्त्री कमानसिंह बोहरा, भुवनेश्वर लामिछाने, कोषराज रेग्मी, लेखापरीक्षक करिम खानले सरकारले ल्याएको बजेटले कोरोनाबाट प्रभावित अर्थतन्त्र उकास्ने प्रभावकारी योजना नआएको टिप्पणी गरेका थिए । छलफलमा संघका बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, महासचिव चिरञ्जीवी ओली, पूर्वउपाध्यक्ष दुर्गा भण्डारी, कोषाध्यक्ष हरिलाल न्यौपाने, कार्यसमिति सदस्य भीम रानाभाट, टंकप्रसाद शर्मा, भीमलाल कँडेललगायतले धारणा राखेका थिए ।