अपरिचित व्यक्ति गाउँ पसे एक हजार रुपैयाँ जरिवाना !

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका ८ फाँटागाउँमा अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाइएको छ ।
कैलाली र बर्दिया जोड्ने सत्ती पुल नजिक रहेको यो गाउँमा दुबै जिल्लामा जावतजावत गर्नेहरु अनियन्त्रित रुपमा गाउँमा आउँदा कोरोना रोग सर्ने डरले जेठ १३ गतेकाे गाउँभेलाबाट अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा निषेध गरिएको बडघर पुरन चौधरीले बताए । गाउँ प्रवेश द्वारको सडकमा काँडाको बार पनि लगाइएको छ ।
स्थानीय प्रेमलाल चौधरी भन्छन्, ‘अटेर गरेर कोही गाउँभित्र आयो भने एक हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।’यात्रीहरुले विभिन्न बहानामा गाउँ प्रबेश गर्न थालेपछि सडकहरुमा बाँस र झ्यांङ्खटा लगाएर बाटो बन्द गरिएको रामदास चौधरी बताउँछन् ।