विभिन्न माग राख्दै बर्दियाका व्यवसायी संगठीत

बैंक ब्याज तथा घरबहाल पुर्ण रुपमा छुट देखि व्यवसाय संचालन गर्न पाउनुपर्ने माग


बर्दिया: लामो समयको बन्दाबन्दीका कारण अर्थतन्त्र धरासायी बन्दै गईरहेको भन्दै जिल्लाको व्यापार व्यवसाय पर्वद्धन र ब्यवस्थापनका लागि बर्दियाका व्यवसायीहरु संगठित भएका छन । जिल्लाका आठवटै स्थानीयतह अन्तगर्त गठन भएका उद्योग वाणिज्य संघका शाखाहरु संगठित भएर जिल्ला उद्योग वाणिज्य समन्वय समिति गठन गरेका हुन । गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर चौधरीको संयोजकत्वमा गठन भएको समितिले बर्दिया जिल्ला संकट व्यवस्थापन केन्द्रको वैठकमा नीजिक्षेत्रको सहभागिता, बैंक व्याज तथा घर बहाल पुर्णरुपमा छुटको लागि माग गर्ने, अवस्था हेरी उद्योग व्यवसाय संचालन सम्वन्धमा विभिन्न निर्णय गरेको छ ।
बिहिबार गठन भएको समितिले विभिन्न माग राख्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने समक्ष ज्ञापन पत्र समेत बुझाएको छ। ज्ञापनपत्रमा बैंक ब्याज तथा घरबहाल पुर्ण रुपमा छुट गर्न मागका साथै कोरोना संक्रमण फैलिन नदिन राज्यव्यवस्थालाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सामाजिक दुरी कायम गरेर व्यवसाय संचालन गर्न माग गरिएको  छ ।
समितिका संयोजक वीरबहादुर चौधरीले लामोसमयसम्मको लकडाउनका कारण विभिन्न बैंक तथा वित्तिय संस्थासंग कर्जा लिएर व्यवसाय संचालन गरीरहेका व्यवसायीहरुको उठीवास लाग्ने सम्भावना भएकोले सरकारसंग आफुहरुले बैंक ब्याज तथा घरबहाल पुर्ण रुपमा छुट गर्न माग गरेको बताए । त्यस्तै लकडाउन खुल्ने निश्चित नभएकोले आम मानिसका आवश्यक्तालाई ध्यान दिई कोरोना संक्रमण फैलिन नदिन सचेत रहँदै अवस्था हेरेर सबै किसिमका व्यवसाय संचालन गर्न माग गरेको उनको भनाई छ । ‘लकडाउन कहिले सम्म जान्छ थाहा छैन’ उनले भने ‘यस्तो अवस्थामा सर्वसाधारणका आवश्यक्ता घरभित्रै बसेर मात्र पुरा नहुने भएकोले अत्यावश्यकका साथै अन्य सबै खाले पसल, व्यवसाय पनि खोल्न जरुरी छ ।’