थारु भाषाको बाल पुस्तक लोकार्पण

काठमाडौं : कोरोना महामारीका कारण लकडाउनको अवस्थामा पुस्तक लोकार्पण लगायतको औपचारिक कार्यक्रम सम्भव नभएपछि आयोजकहरुले अनलाइन भर्सनबाट लोकार्पण कार्यक्रम गरिरहेका छन् ।
यसैक्रममा शनिबार चार भाषाको २० बालपुस्तकको अनलाइन भर्सनबाट लोकार्पण गरिएको छ । लोकार्पित पुस्तकमा छविलाल कोपिलाको कैलारी र स्यालको बिहे, कृष्णराज सर्वहारीको भुख्ली र खुत्रुके तथा शान्ति चौधरीको लहेडा र बछिया अनि मेरी दुधु रहेका छन् । रंगीन सचित्रमय यी छ वटै पुस्तक डंगौरा थारु, नेपाली र अंग्रेजी भाषामा प्रकाशित गरिएका हुन् ।
यसका अतिरिक्त शान्ति चौधरीको दुबै पुस्तक बारा जिल्लाको थारु भाषामा पनि प्रकाशित छ । शान्तिले यस अघि नै ६५ वटा पुस्तक प्रकाशित गरिसकेकी छन् ।
सिर्जनालयसँगको सहकार्यमा द एशिया फाउण्डेशनको लेट्स रिड परियोजनाले उक्त बालकथा प्रकाशन गरेको हो । पुस्तकको लोकार्पण द एशिया फाउण्डेशनका कन्ट्री डाइरेक्टर मेघन नाल्बो, बुक्स फर एशियाकी रितिका लाकौल, सिर्जनालयका अध्यक्ष सरारे बज्राचार्य, पुस्तकका सम्पादक मुना गुरुङ तथा पुस्तकका लेखक र चित्रकारहरुले संयुक्त रुपमा गरेका थिए ।
सो अवसरमा द एशिया फाउण्डेशनका कन्ट्री डाइरेक्टर मेघन नाल्बोले बुक्स फर एशिया परियोजना अन्तर्गत एशियाका २९ भाषाका करिब तीन हजार पुस्तक तयार गरी लेट्स रिड डिजिटल लाइबे्ररीमा अपलोड गरिएको जानकारी गराइन् । अपलोड सबै बालकथा केन्द्रित रहेका केही पुस्तक प्रकाशित पनि गरिएका छन् । नेपालअन्तर्गत नेपाली, नेपाल तथा थारु भाषामा ३ सय ५० बालपुस्तक तयार गरिएको पनि नाल्बोले बताइन् ।
कार्यक्रममा साहित्यकार कृष्णराज सर्वहारीले थारु भाषामा भुख्ली, छविलाले कोपिलाले नेपाली भाषामा स्यालको बिहे तथा सरारे बज्राचार्यले अंग्रेजी भाषामा कैलारी कथा वाचनसमेत गरेका थिए । कोपिलाले थारु बालसाहित्यलाई समृद्धिको बाटोमा डो¥याउन विभिन्न भाषामा अनुवादसमेत गरिएका यी पुस्तकले मागदर्शन गर्ने बताए । लोकार्पित सबै पुस्तक वाचन गरेर यूट्युवमा पनि अपलोड गरिँदैछ ।
त्यस्तै, लोकार्पित पुस्तकमा चित्र बनाउने मित्थु थारु, बन्दना तुलाचन, उमेश चौधरी, उहाबाङ, श्रद्धा श्रेष्ठ, सुमन महर्जनले आआफ्नो कामको अनुभव शेयर गरेका थिए । चित्रमा जीवन्तता ल्याउन दाङ देउखुरीको विभिन्न थारु गाउँहरुको भ्रमणले आफूहरुलाई निकै फलदायी भएको श्रद्धा श्रेष्ठले बताइन् ।
आयोजकहरुले यसलाई लोकार्पण कार्यक्रममा मात्र सीमित नराखी बालसाहित्यकेन्द्रित एक हप्ते छलफल कार्यक्रम पनि राखेका छन् । शनिबारदेखि आगामी शुक्रबारसम्म आयोजना गरिने कार्यक्रमको नाम कैलारीदखि बारासम्म राखिएको छ । यस कार्यक्रममा लोकार्पित पुस्तकका लेखक तथा चित्रकारहरुसँग सीता मादेम्बा, प्रनव आकाश, कुमुदिनी, अनुराधा, प्रोमिना लगायतले छलफल चलाउने छन् । आयोजकका अनुसार अन्तिम दिन शुक्रबार बालसाहित्यको भविष्यबारे प्यानल छलफल राखिएको छ ।