बाँकेका कारोना संक्रमितमध्ये ८९ प्रतिशत युवा

नेपालगन्ज : बाँके जिल्लामा अधिकांश युवामा कोरोना संक्रमण भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका रेकर्ड अनुसार मंगलबार बिहानसम्म भएका एक सय ९६ जना संक्रमितको विश्लेषण गर्दा सबैभन्दा बढी एक सय १४ जना १५ वर्षदेखि २९ वर्षका छन् । जुन जिल्लाको कूल संक्रमितको ५८.१६ प्रतिशत हो । त्यसैगरी ६१ जना ३० देखि ४४ वर्षका छन् । यो उमेर समूहका संक्रमित ३१.१२ प्रतिशत हुन आउँछ । नेपालमा ४० वर्षको व्यक्तिलाई युवा मानिन्छ । यस अर्थमा बाँकेमा १५ वर्षदेखि ४४ वर्षका मात्र एक सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । जुन कूल संक्रमितको ८९.२८ प्रतिशत हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार १ देखि १४ वर्षसम्मका २ जना (७ वर्षीया बालिका र ९ वर्षका बालक), ४५ देखि ५९ वर्षसम्मका १० जना रहेका छन् । वृद्ध उमेर (६० वर्षमाथि) का जम्मा तीन जना मात्र छन् । ६ जनाको भने उमेर खुलेको छैन ।
संक्रमितमा अधिकांश पुरुष (एक सय ८३ जना) र महिला १३ जना मात्र छन् । पुरुष ९३.३६ प्रतिशत र महिला ६.६३ प्रतिशत हो । जिल्लामा कोरोनाबाट नरैनापुरका २५ वर्षका एक युवाको मृत्यु भएको छ । संक्रमितमध्ये १८ पुरुष र ११ महिला कोरोना जितेर घर फर्किसकेका छन् । अरु सबै संक्रमितको बाँके र दाङको आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ ।