बाँकेका ९२ प्रतिशत क्वारेन्टाइन विद्यालयमा

डुडुवा गाउँपालिका ४ को आधारभूत विद्यालय शाहपूर्वाको टिनको छानो भएको भवनमा आइसोलेन । फोटो सौजन्य : राकेश मिश्र

नेपालगन्ज : बाँके जिल्लामा ९२.५५ प्रतिशत क्वारेन्टाइन विद्यालयमा बनाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार सोमबारसम्मको तथ्यांकमा जिल्लाका ८ स्थानीय तहमा रहेका ९४ वटा क्वारेन्टाइनमध्ये ७ वटा मात्र विद्यालय बाहेक छन् । जिल्लामा ८७ वटा अर्थात ९२.५५ प्रतिशत क्वारेन्टाइन विद्यालयमै छन् । त्यसमा पनि दुई वटा क्याम्पस हुन् । कोहलपुर बहमुखी क्याम्पस र नेपालगन्जमा महेन्द्र बहुमुखी क्याम्पसलाई पनि क्वारेन्टाइन बनाइएको छ । जिल्लामा चार हजार ९६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
शिक्षा इकाइ तथा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार जिल्लाभरी प्राथमिकदेखि माध्यमिक गरी दुई सय ५० विद्यालय रहेका छन् । ती विद्यालयमध्ये आधाभन्दा बढीको छानो टिनले छाएको छ । टिन तातिएर गर्मी सहिनसक्नु हुन्छ । जेठ महिनामा नेपालगन्जमा ४१.८ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । पत्रकार तथा अधिकारकर्मी आलम खान भन्छन्, ‘टिनको छानोमा क्वारेन्टाइन बनाउनु नै मापदण्ड पुग्दैन । अहिले टिनको छानोमै आइसोलेसन बनाउनु झन मापदण्ड विपरित काम भइरहेको छ ।’