युवाहरुको विरोधपछि रोकियो नदी उत्खनन्

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका ८ बनगाउँस्थित कर्णाली नदीको पानी डाइभर्सनका नाममा भइरहेको ढुङ्गा वालुवा चोरी निकासी स्थानीय युवाहरूको विरोधपछि रोकिएको छ ।
उक्त नदीबाट २१ ट्याक्टर बढी ग्राभेल स्थानीय एक पेट्रोल पम्प र स्थानीय एक कटेजमा अनाधिकृत झारिएपछि स्थानीय युवाहरूको समूहले नदीजन्य पदार्थको अवैध उत्खनन वस्तीमा जोखिम बढ्न सक्ने भन्दै तिब्र विरोध जनाएपछि उक्त कार्य रोकिने भएको हो । टीकापुर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले नदीजन्य पदार्थको उत्खनन्ले वर्षायाममा त्यसक्षेत्रमा जोखिम बढ्ने हुँदा त्यस्ता कार्य तत्काल बन्द गर्ने प्रतिवद्धता जनाएसँगै ढुङ्गा बालुवा निकाल्ने कार्य बन्द भएको हो ।
वडाध्यक्ष ठकुल्लाले आफू दिनभर अन्यत्र व्यस्त हुने हुँदा सबै गतिविधि जानकारी नहुने भएकाले स्थानीय वासिन्दाको सहयोग र सूचनाबाट नै सामाजिक विकृति र कमजोरी रोक्न सकिने भएकाले सबै पक्षबाट सहयोगको खाँचो औल्याए ।
वनगाउँस्थित एक समूहले ग्राभेल निकासी गर्दा प्रति ट्याक्टर ५ सय र सत्ती कर्णाली सामुदायिक वनले दुई सय रूपैयाँ रोयल्टी लिएको स्वीकारेका छन् ।
विगत लामो समयदेखि उक्त क्षेत्रमा तटबन्धको ठेक्का लिएर पनि अहिलेसम्म काम सम्पन्न नगर्ने सिद्धि शाही कन्स्ट्रक्शनका प्रोपराइटरमाथि सामाजिक कारवाही गर्ने स्थानीय युवाहरूले चेतावनी दिएका छन् ।
स्थानीय युवा कृत ठकुल्लाका अनुसार ठेक्का लिने, काम सम्पन्न नगर्ने र वस्तीमा जोखिम बढाउने ठेक्का कम्पनीका प्रोपराइटरको तस्बिर पोलपोल र सार्वजनिकस्थलमा टाँस्नेलगायतका सामाजिक अभियान चलाइने बताइएको छ ।
गत वैशाखमा कर्णाली नदीले श्रीलङ्गाका टापुमा नदी कटानसँगै सीमा स्तम्भसमेत बगाएपछि पानीको वहाव पूर्वतर्फ डाइभर्सन गर्ने कार्य यतिखेर भइरहेको हो ।
करिब दुई सय मिटर बढी ढिस्को उठाएर यतिखेर पानी पूर्वतर्फ डाइभर्सन गरिएको र सम्भवतः भएसम्म तत्काल तटबन्धको काम अघि बढाउन रानी जमरा कुलरिया सिचाई आयोजना र निमार्ण कम्पनीसँग सहकार्य भइरहेको वडाध्यक्ष ठकुल्लाले जानकारी दिए ।