कर तिर्ने समय असार ७ गतेसम्म थप

नेपालगन्ज : आन्तरिक राजश्व विभागले व्यवसायीलाई कर तिर्ने समय थप गरेको छ ।
जेठ २५ गतेसम्म कर भुक्तानी गर्न सरकारले दिएको निर्देशनको व्यापक विरोध भएपछि कर बुझाउने म्याद असार ७ गतेसम्म थप गरेको हो ।
विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना जारी गरेकोे थियो । जेठ ३२ गतेसम्म लकडाउन जारी रहेको अवस्थामा कर तिर्ने समय जेठ २५ सम्म तोकिएपछि त्यसको चौतर्फी आलोचना भएको थियो । अन्ततः विभागले बुधबार नयाँ सूचना जारी गरी कर तिर्ने समय बढाएको हो । नयाँ जारी गरेको सूचना अनुसार २०७६ चैत महिनामा बुझाउनुपर्ने आर्थिक बर्ष २०७६/०७७ को संसोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम दाखिला गर्ने म्याद २०७७ असार १५ सम्म तोकिएको छ भने अन्य सबै किसिमका कर बुझाउने म्याद असार ७ गतेसम्मका लागि तोकिएको हो ।