नेपालगन्जको नीजि ल्याबमा पनि कोरोना परीक्षणको तयारी

सांकेतिक फोटो । स्रोत : इन्टरनेट

नेपालगन्ज : सरकारले नीजि प्रयोगशालालाई कोरोना परीक्षण गर्न दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा नीजि प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न अनुमति दिने निर्णय भएको बताएका हुन् । पीसीआर टेस्टका लागि संकलन भएका नमूना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने निर्णय भएको उनले बताएका हुन् । त्यसरी नमूना परीक्षण गर्दा लाग्ने खर्च सरकारले नै बेहोर्नेछ ।
सरकारले नीजि ल्याबलाई पनि कोरोना परीक्षण गर्न दिने भनेपछि नेपालगन्जको एउटा नीजि पोलिक्लिनिकले कोरोना परीक्षणको तयारी गरेको छ । नेपालगन्जको सुर्खेत रोडस्थित बागेश्वरी डाइग्नोसिस सेन्टर एण्ड पोलिक्लिनिकसँग पीसीआर मेसिन छ । पोलिक्लिनिकले मेसिन सन्चालनको अनुमतिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आवेदन दिएको छ । प्रयोगशालाले देशभरका १० वटा नीजि प्रयोगशालालाई पीसीआर परीक्षण गर्न दिने भनेर सर्ट लिष्ट पनि बनाएको छ तर अनुमति दिएको छैन ।
‘सरकारले अनुमति कहिले देला र प्रयोग गरौंला भनेर पर्खेर बसेको छु’, पोलिक्लिनकका सन्चालक विमल बुढाथोकी भन्छन्, ‘मसँग रिएजेन्ट पनि तयारी अवस्थामा छ । दक्ष जनशक्ति पनि छन् । कोरोना परीक्षणका लागि छुट्टै प्रयोगशाला बनाउन कम्तीमा तीन दिन लाग्ला । छिटोभन्दा छिटो प्रयोगमा आउन सक्छ ।’ सरकारले नीजि क्षेत्रलाई परीक्षण गर्न दिने भनेपछि उनी उत्साही भएका छन् ।