अवैध नदीजन्य पदार्थ बोकेका २३ गाडी नियन्त्रणमा

फोटो सौजन्य : जिल्ला प्रशासन कार्यालय बाँके

नेपालगन्ज : बाँके प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन् गर्ने विरुद्ध कारबाही तिब्र पारेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीले शनिबार र आइतबार गरी २ ट्रिपर र २१ टेक्ट्रर नियन्त्रणमा दिएको बताए । शनिबार नियन्त्रणमा लिएका ३ वटा टेक्ट्ररका नौ जनाविरुद्ध मुद्दा दायर गरिएको र आइतबार राति नियन्त्रणमा लिइएका २ ट्रिपर र १८ टे«क्टरका १३ जनाविरुद्ध पनि मुद्दाको तयारी भइरहेको एसपी ओलीले बताए । जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला समन्वय समितिले केही दिन अघि जिल्लामा विकास निर्माणमा काममा नदीजन्य पदार्थको अभाव हुन नदिन पहल गर्ने विषयमा राजनीतिक दल, स्थानीय तह, निर्माण कम्पनीलगायतका सरोकारवाला निकायबीच छलफल गरेको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने बताए ।