१४ ट्रयाक्टरलाई सवा २ लाख जरिवाना

नदीजन्य पदार्थ अवैध उत्खननमा कारबाहीका लागि जिसस बाँकेमा ल्याइएका ट्रयाक्टरहरु । फोटो : मेरो खुसी

नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेले अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरेको अवस्था रंगेहात नियन्त्रणमा लिएका १४ वटा ट्रयाक्टरबाट जनही १५ हजार रुपैैयाँ जरिवाना असुल गरेको छ ।
जिसस सदस्य चेतबहादुर घर्तीका अनुसार दुई लाख १० हजार रुपैयाँ जरिवाना लिएर ट्रयाक्टर छोडेको छ । बालुवा भने सम्बन्धित व्यक्तिले नै फिर्ता पाएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार शनिबार ३ वटा र सोमबार बिहान १ बजेतिर राप्ती नदीबाट अवैध रुपमा बालुवा ल्याउँदै गरेको अवस्थामा ११ वटा टेक्टर नियन्त्रणमा लिएर जिससमा बुझाएको थियो । जरिवाना लिएर ट्रयाक्टर छोडिए पनि प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २२ जना उपर मुद्दा दायर गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अवैध नदी उत्खनन् गर्ने सबैलाई कारबाही गर्ने चेतावनी दिँदै मुद्दाको प्रक्रियामा रहेकाहरुको म्याद थप भएको बताए । बाँकेका नदी र खोलामा नदीजन्य पदार्थको ठेक्का ३२ जेठमा सकिएको छ ।