व्यवसायीक र घरबहाल कर छुट दिन संघको माग

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले व्यवसायीक र घरबहाल कर सत प्रतिशत छुट दिन स्थानीय सरकारसंग माग गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण व्यापार व्यवसाय धरासायी हुँदा समेत संघिय सरकारले नहेरेका कारण व्यवसायीमाथी परेको समस्या स्थानीय सरकारले हेर्नुपर्ने भन्दै नेपालगन्ज उपमहानगरपालिकासंग कर छुट दिन माग गरेको हो ।
संघले सोमबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलसमशेर राणालाई भेटी पश्चिमको आर्थिक केन्द्र मानिएको नेपालगन्जको उद्योग व्यवसायलाई राहत दिन माग गरेको हो । संघ अध्यक्ष अब्दुल वाहिद मन्सुरीले ज्ञापनपत्र बुझाउँदै यस्तो संकटको बेला व्यवसायीलाई करतिर्न आदेश दिनुले सरकार नीजिक्षेत्रप्रति संवेदनशील नभएको भन्दै उपमहानगरपालिकाले अभिभावकीय भुमिका निर्वाह गर्ने आशा र विश्वास लिएको बताए । कोरोनाको त्रासका कारण व्यापार व्यावसाय शुन्य भएको अवस्थामा व्यवसायीक र घरबहाल करमा सत प्रतिशत छुट दिन र आर्थिक मेरुदण्डको रुपमा स्थापित नीजिक्षेत्रलाई अगाडी बढनको लागि प्रोत्साहित गरिने कुरामा विश्वस्त रहेको जनाउँदै उल्लेखित करछुट दिन संघले नेपालगन्ज उपमहानगरपालिकासंग जोडदार माग गरेको छ ।