बाँकेको बैजनाथमा कोरोनाबाट ४६ वर्षीया महिलाको मृत्यु

नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी ती महिलाको मंगलबार ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनको सोमबार स्वाब संकलन गरिएको थियो । उनी ३० जेठमा अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई कसरी कोरोना संक्रमण भयो भन्नेबारे कुनै पत्ता लाग्न सकेको छैन ।
मृतक महिलाको शव अस्पतालमै राखिएको छ । बुधबार शव व्यवस्थापन हुने जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।