बाँकेमा परीक्षण गरेका ६% व्यक्तिमा कोरोना

नेपालगन्ज : बाँके जिल्लामा कोरोना परीक्षण गरिएकामध्ये ६.३४ प्रतिशतमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार मंगलबार साँझसम्म पाँच हजार ९४ जनाको पीसीआर प्र्रविधिबाट कोरोना परीक्षण गर्दा तीन सय २३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यीमध्ये एक सय ५५ जनाको भने रिपोर्ट आउन बाँकी नै छ । जसमा मंगलबार संकलन गरिएका ५३ नमूना छन् ।
बाँकेको कोरोना परीक्षण सबैभन्दा बढी भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा चार हजार चार सय ३५ जनाको परीक्षण गर्दा सबैभन्दा धेरै पोजेटिभ रिपोर्ट दुई सय ९१ जनाको आएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा तीन सय ५२ जनाको परीक्षण गर्दा ३१ जनाको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा एक सय ९४ को परीक्षण गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ६० जनाको परीक्षण गर्दा कसैको पनि रिपोर्र्ट पोजेटिभ आएको थिएन ।