कैलालीमा देखियो बच्चासहितको डल्फिन

कैलालीको मोहना र पथरैया नदीको दोभानमा देखिएको डल्फिन

मानबहादुर ठकुल्ला । टीकापुर
विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका नदीमा देखिन थालेका छन् । डल्फिन देखिएको र मनसुनभरि अवलोकन गर्न पाइने यो स्थान टीकापुर नगरपालिका–७ बैदीमा पर्छ । पानीको सतह बढेपछि यहाँ डल्फिन देखिन थालेका हुन् । पानी कम भएको बेला गहिराइ खोज्दै कर्णालीतिर जाने डल्फिन पानीको सतह बढेपछि मोहना, पथरैया, काँढालगायत नदीमा आइपुग्ने गर्छन् ।चुरे क्षेत्रमा वर्षा भई नदीमा पानीको सतह बढेपछि शनिबारदेखि दुई वटा डल्फिन देखिएको संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउँछन् । यो वर्ष पहिलो पटक माउ र बच्चा डल्फिन मोहना र पथरैया नदीको दोभानमा देखिएको ढुङ्गानाले बताए ।
विगतमा असार पहिलो सातातिरबाट डल्फिन कर्णालीको सहायक नदीहरूमा देखिने गरेका थिए । ‘यो वर्ष अलि चाँडै देखा परे’, ढुङ्गानाले भने ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) ले रातो सूचीमा राखेको गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको सहायक नदीमा मनसुनभरि देखिने गर्छन् । मनसुन सकिएसँगै डल्फिनहरू पुनः मुख्य नदी कर्णालीहुँदै भारतको घाँघरासम्म पुग्ने गरेको बताइन्छ ।
कर्णाली नदीमा भने वर्षभरि नै डल्फिनको बसोबास रहने गरेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ । मनसुनमा मोहना–पथरैया नदीको दोभान, पथरैया–काँढा नदीको दोभान र पथरैया–गैरी खोलाको दोभानमा निकै नजिकबाट डल्फिन अवलोकन गर्न पाइने गरेको अर्का संरक्षणकर्मी विजयराज श्रेष्ठ अनुभव सुनाउँछन् ।
नदीमा पानीको गहिराइ कायम रहिरहेमा यहाँ वर्षभरि नै डल्फिन बस्न सक्छन्’, उनले भने । पर्यापर्यटनको राम्रो सम्भावना बोकेको डल्फिनको कैलालीमा २०५७ सालबाट संरक्षण हुँदै आएको छ । पहिलेका नामूद शिकारी ७५ वर्षीय भोजराज श्रेष्ठको नेतृत्वमा समुदायस्तरबाट डल्फिन संरक्षणको कार्य हुँदैआएको हो । वन्यजन्तुको सिकार गर्न छोडेका श्रेष्ठ डल्फिन संरक्षणमा लागेका छन् । संरक्षणको कार्य थालेपछि हरेक सिजनमा विभिन्न देशका पर्यटक डल्फिन अवलोकन गर्न यहाँ आउने गरेका छन् । स्वच्छ पानीमा बस्न रुचाउने गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको नदीमा बच्चा हुर्काउनका लागि आउने गरेको बताइन्छ । तर, नदीमा प्रदुषण बढ्दै जानु, डल्फिनको आहारा प्रजातिको रुपमा रहेका माछाको जथाभावी सिकार हुनुले संरक्षणमा चुनौती रहेको संरक्षणकर्मी ढुङ्गाना बताउँछन् । नदीमा महाजाल हालेरसमेत माछा मार्ने गरिन्छ । विगत केही वर्षयता महाजाल हालेर माछा मार्न, नदीमा प्लाष्टिकजन्य वस्तु र मरेका जनावरको सिनो फाल्ने कार्यमा बन्देज लगाइएको संरक्षणकर्मी ढुङ्गानाले प्रष्ट पारे ।