विश्वभर कोरोना निको हुने ५३ प्रतिशत, नेपालमा १७ प्रतिशत घर फर्के

नेपालगन्ज : कोरोना भाइरस (कोभिड-१९) बाट विश्वमा निको हुने दर बढ्दै गए पनि नेपालमा भने नयाँ संक्रमितको दर नै उच्च छ ।
विश्वभर कोरोना महामारीको अपडेट गर्ने वेभसाइट वल्र्डोमिटर्स् डट इन्फोको शनिबार बिहान ८ः४५ सम्मको रेकर्ड अनुसार कोरोना संक्रमितको संख्या ८७ लाख ५७ हजार सात सय ५० पुगेको छ । निको हुने ४६ लाख २५ हजार चार सय ४९ रहेको छ । कूल संक्रमितमा निको हुने ५२.८१ प्रतिशत हुन आउँछ । कोरोनाबाट मृत्यु हुने चार लाख ६२ हजार पाँच सय १९ छन् ।
नेपालमा भने कोरोना निको हुने भन्दा नयाँ संक्रमित थपिने दर बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार बिहानसम्मको रेकर्ड अनुसार नेपालमा संक्रमित ८ हजार दुई सय ७४ छन् भने निको हुने एक हजार चार सय दुई मात्र छन् । जुन कूल संक्रमितको १६.९४ प्रतिशत हो । परीक्षणको दायरा बढ्दै जाँदा संक्रमित बढेका हुन् । असार महिनाको रेकर्डका आधारमा हरेक दिन औसत पाँच सयका दरले नयाँ संक्रमित थपिएका छन् ।