मलको खोजीमा भौतारिँदै किसान

मानबहादुर ठकुल्ला । भजनी
कैलालीमा रसायनिक मलको अभाव भएको छ ।
वर्षायाम शुरु भएसँगै धान खेतीका लागि रसायनिक मल नपाउँदा मलको खोजीमै किसानको दैनिकी बित्न थालेको छ।
भजनी नगरपालिका–५ अर्जुन साउँदले करिव चार बिगाह क्षेत्रफलमा धान रोपाइँको तयारी गरेका छन्। धान रोप्ने समय भइसक्दा पनि रासायनिक मल नपाउँदा मल बिनाको रोपाइँ शुरु गरेको उनी बताउछन्।
उत्पादन बढाउन किसानलाई धान रोप्ने जग्गा तयारीदेखि उत्पादन नहुँदासम्म बोटबिरुवालाई आवश्यक मात्रामा मल आवश्यक पर्छ तर यो वर्ष मलको चरम अभाव देखिएपछि किसान स्थानीय सहकारी, भेटेरिनरीलगायत मल बिक्री गर्ने केन्द्रमा मलको खोजीमा दैनिकी बिताउन थालेका हुन्।
जिल्लामा रासायनिक मलको अभावसँगै किसान महँगोमा मल किन्न बाध्य छन् भने महँगोमा समेत मल नपाउँदा किसानको दैनिकी मल खोज्नमै जान थालेको छ। “बजारमा रासायनिक मल पाइँदैन। दैनिकी नै मल खोज्नमै जान थालेको छ”, साउदले भने, “मल पाइए पनि महँगोमा किन्नुपरेको छ। युरिया बजार कतै छैन युरिया मल नहाले खेती नै हुँदैन।”
धान रोप्ने बेला भएकाले चर्को मूल्यमा रासायनिक मल खरिद गर्न बाध्य भएको भजनी -८ का सीताराम चौधरीले बताए । सरकारले कृषिलाई आफ्नो नीति तथा कार्यक्रममा मुख्य प्राथमिकतामा राखेका छन्, त्यो नाममा मात्रै सिमित छ”, चौधरीले भने, “खेती लगाउने समयमा जहिले पनि रासायनिक मलको अभाव हुन्छ। पाए पनि धेरै महँगोमा किन्नुपर्ने बाध्यता छ। सरकारले किसानलाई राहत हुने काम गर्नै सकेको छैन।” उनले मल तथा बीउ खादको चर्को मूल्य तिर्नुपर्ने बाध्यताकै कारण किसानलाई खेतीबाट आम्दानीभन्दा बढी खर्च हुने गरेको बताए । विगतका वर्षमा भारतीय मलको त प्रयोग गर्न सकिन्थ्यो । यो वर्ष कोरोनाका कारण सीमानाका बन्द भएपछि त्यो पनि पाउन नसकिएको किसानहरु बताउँछन् ।
रासायनिक मलको बिक्री गर्दै आएको सहकारी संस्थामा दैनिक सयौँ किसान मलका लागि पुग्ने गरेका छन्। सहकारीमा पुगेका किसानले मल नपाउँदा सहकारीमा निवेदन छोडेर फर्कने गरेको कृषि सहकारीले बताउँदै आएको छ। अघिल्ला वर्षहरुमा सीमा नाकाबाट अवैधरूपमा मलको आपूर्ति हुने र भेटनरीबाट चर्को मूल्यमा भए पनि मल पाइने गरेको थियो। अहिले कोरोना भाइरसका कारण सीमानाका पूर्णरूपमा बन्द हुँदा मलको झनै चरम अभाव देखिएको हो।
कृषि सामग्री कम्पनीले कृषि सहकारीलाई प्रतिक्विन्टल युरिया एक हजार ६ सय ५२ रुपैयाँ, डीएपी प्रति क्विन्टल चार हजार ५पाँच ५२ रुपैयाँ र पोटास प्रतिक्विन्टल तीन हजार तीन सय ५२ रुपैयाँमा उपलब्ध गराइरहेको छ । तर किसानले अहिले रासायनिक मल युरिया प्रतिक्विन्टल रु दुई हजारदेखि दुई हजार ८ सय, डीएपी रु पाँच हजारदेखि छ हजारसम्ममा किन्न बाध्य भएका छन्।
कृषि सामग्रीको निर्धारित मूल्यभन्दा ढुवानी भाडा थप गरी केही रकम बढाएर सहकारीले बिक्री गर्न पाए पनि टीकापुर नगरपालिका–८ मा रहेको धनसिंहपुर कृषि सहकारीका अध्यक्ष धनसिंह साउँदले मलको अभाव भएका कारण किसानको मागलाई पूरा गर्न नसकिएको बताए। उनले डिएपी र पोटास मल छिटपुटरुपमा पाइए पनि युरिया मल पाउन नसकिएको भन्दै सयौँ किसानले मलका लागि सहकारीमा निवेदन दर्तासमेत गरेको बताए।
हामीले मलको आयातका लागि निरन्तर सम्पर्क गर्दै आएका छौँ”, अध्यक्ष साउँदले भने, “युरिया मलको नेपालभरि नै अभाव देखिएको छ। माग अत्यधिक भएकाले यही अवस्थामा मल पाए पनि पूर्ति गर्नसमेत सकिने अवस्था देखिँदैन।” उनले लकडाउनको बेला ढुवानी महँगो भएको भन्दै मल बिक्रेता सहकारीले केही मूल्य बढाएर मल बेच्नुपर्ने बाध्यता रहेको बताए।
कैलालीमा ९५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ३९ हजार हेक्टरमा धानखेती हुने गरेको छ। त्यसका लागि चार हजार टन युरिया र तीन हजार टन डीएपी मल आवश्यक पर्ने कृषि सामग्री कम्पनी धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए। कृषि सामग्री केन्द्रले निर्धारण गरेको मूल्यमा युरिया डीएपी, पोटास मलको बिक्री गर्दा उक्त सहकारीलाई कृषि सामग्री कम्पनीले ढुवानीसहितको व्यवस्था गरी मल कृषि सहकारीलाई प्रदान गरेको हुन्छ।