५ संक्रमितको उपचार, २ को शल्यक्रिया

नेपालगन्ज : नेपाल सरकारले तोकेको पश्चिम नेपालको एक मात्र लेभल–३ कोभिड हस्पिटल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले ५ जना कोरोना संक्रमितको उपचार गरेको छ । अस्पतालले दुई जना कोरोना संक्रमित भएका गर्भवती महिलाको सफल शल्यक्रिया गरेको छ ।
लर्ड बुद्ध एजुकेशनल एकेडमी लिमिटेडद्वारा सञ्चालित शिक्षण अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले विज्ञप्ती जारी गरी कपिलवस्तु कृष्णनगरकी ३८ हप्ताकी २७ वर्षीया गर्भवती महिलाको शनिबार सफल शल्यक्रिया गरेर शिशुलाई बाहिर निकालेको थियो । मेडिकल कलेजका प्रसुति विशेषज्ञहरू डा. कविता सिन्हा, डा. अमरेन्द्र कुशवाहा, बालरोग विशेषज्ञ डा. राजेश केसी, एनेस्थेसियोलोजिस्ट डा. रविन श्रेष्ठलगायतको टोलीले शल्यक्रिया गरेको थियो । महिलाले स्वस्थ शिशु (छोरी) जन्माएकी छन् । रुपन्देहीको भीम अस्पतालबाट रिफर गरेर पठाइएको थियो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोेडियाका अनुसार नेपाल सरकारले लेभल ३ कोभिड हस्पिटल तोके यता ५ जनाको उपचार गरिएको बताए । यसअघि २७ जेठमा अछामकी २५ वर्षीय कोरोना संक्रमित गर्भवती महिलाको ठूलो आन्द्राको सफल शल्यक्रिया गरेको थियो । उनी १८ हप्ताकी गर्भवती हुन् । उनलाई बयलपाटा अस्पतालबाट रिफर गरिएको थियो ।
३२ जेठदेखि रुकुम सानोभेरीका ८२ वर्षका पुरुषको भने अस्पतालमा उपचार जारी छ । अस्पतालमा उपचार गराइरहेकामध्ये बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षकी महिला र कैलालीको लम्की चुहा नगरपालिका वडा नं. २ की ४३ वर्षीया महिलाको मृत्यु भएको थियो । दुबैै महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई लेभल ३ कोभिड हस्पिटल तोकेको छ । लेभल–३ कोभिड हस्पिटलको उपचार सबै निःशुल्क हुन्छ । उपचारमा लाग्ने सबै खर्च नेपाल सरकारले नै व्यहोर्ने व्यवस्था गरेको छ ।